बाकस बोकेर पढाइ खर्च जुटाउँछन् विद्यार्थी
जाजरकोट, १७ मङ्सिर । यहाँका अधिकांश बालबालिकाले शुक्रबार र शनिबार खोटो सङ्कलन गर्ने बाकस बोकेर पढाइ खर्च जुटाउने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका जिल्लाको खगेनकोट, ढिमे र लहँ गाविसका सयाँै विद्यार्थी खोटो सङ्कलन गर्ने बाकसका भाडा बोकेर रकमको जोहो गर्न थालेका हुन् । यी तीनवटा गाविसमा बङ्गलामुखी र सूर्यमुखी कम्पनीले खोटो सङ्कलन गरिरहेका छन् । प्रतिबाकस बोकेबापत रु आठ रुपैयाँ पाइने पञ्च भयार मावि खगेनकोट–७ जिकुवामा कक्षा ६ मा पढ्ने धनवीर चदाराले बताउनुभयो ।
खगेनकोटका अधिकांश दलित बालबालिका शुक्रबार र शनिबार बाकस बोक्न रुकुमको राडीमा पुग्छन् र करिब चार घन्टाको उकालो बाटो खोटो सङ्कलन गर्ने खाली बाकस बोकेर मन्सिरी, लुपाना, काडाँलुपाना, भर गाउँ भई रकम बुझेर फर्कन्छन् । साँघुरो अप्ठ्यारो बाटोमा लड्ने समस्या उत्तिकै हुने अर्का धनबहादुर कामीले बताउनुभयो । यहाँका अधिकांश दलित बालबालिकाका अभिवावक भारतमा कमाई गर्न जाने गर्दछन् भने छोराछोरी खोटोका बाकस बोक्ने र अरु भारी बोक्ने काम गर्दछन् । यसरी बोकेर आएको रकमबाट उनीहरु कापी, कलम र कपडा किन्ने गर्दछन् ।
खोटो सङ्कलन गर्ने बाकस हलुका हुने भएका कारण धेरै बोक्न सकिने लहँका कक्षा ७ मा पढ्ने कालीबहादुर विकले बताउनुभयो । यातायातको सुविधा हुने ठाउँसम्म यी बाकस सवारीसाधनबाट लगिन्छ भने अन्य ठाउँमा बालबालिका नै प्रयोग हुने गरेका छन् । जिल्लाको ठिमे गाविसमा सबैभन्दा बढी यी बाकस बोक्ने काममा बालबालिका प्रयोग भएका छन् । यहाँका अधिकांश बालबालिका बाकस बोकेरै आफ्नो सबै खर्चको जोहो गर्ने गरेको स्थानीयवासी प्रेम मल्लले जानकारी दिनुभयो । बालबालिकालाई बाकस बोकाउँदा धेरै रकम दिनु नपर्ने भएका कारण खोटो सङ्कलन गर्ने कम्पनी बालबालिका नै बढी प्रयोग गर्ने गरेका छन् ।