मेचीपारिका मेचे र राजवंशीहरु ‘बिजुली र पुल’ माग्छन्

भद्रपुर, १७ मङ्सिर । भद्रपुर नगरपालिका–१ अन्तर्गत पर्ने मेची नदीपारि मेचे र राजवंशीको बसोबास रहेको गाउँ निकै पिछडिएको छ ।

भद्रपुर नगरपालिकामा महेशपुर र चन्द्रगढी गाविस गाभिएपछि साबिकमा महेशपुर गाविसअन्तर्गतको यो गाउँ अहिले नगरपालिका–१ मा पर्न गएको छ । दुई गाविस महेशपुर र चन्द्रगढी नगरपालिकामा जोडिएको एक वर्ष भएको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे र जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाको संयुक्त टोली आज त्यस गाउँमा राज्यतर्फबाट गर्न सकिने सम्भावना बुझ्न जाँदा स्थानीयवासीले विकास र अवसरको चाहना व्यक्त गरे ।

झन्डै पाँच किमीको दूरी पार गर्दा पुगिने मेची नदीपारिको यो गाउँ निकै पिछडिएको छ भने ९५ प्रतिशत मानिस कृषि पेसामा संलग्न छन् । पाँच प्रतिशत मानिस घर निर्माण र मिस्त्रीका काममा लाग्दै आएका छन् । सडक, बिजुली, खानेपानीको अभाव रहेको यो गाउँमा भर्खरै एउटा विद्यालय, एक अस्थायी प्रहरी चौकी र एक स्वास्थ्य इकाई खडा भएको छ । शिक्षा र रोजगारको अभाव रहेको मेचीपारिका तीनवटा गाउँमा २०४ घरधुरी छन् भने मिठालाल राजवंशी भद्रपुर नगरपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन् । अर्का अमृतलाल राजवंशी नेपाल प्रहरीमा प्रहरी जवानको रुपमा जागिरे छन् ।

यो गाउँका करिब २५ जना वैदेशिक रोजगारका सिलसिलामा विदेसिएका छन् । स्थानीय जनता निर्वाचनको समयमा विभिन्न राजनीतिक दलका नेताहरु भोटका लागि यो गाउँ आउने र आश्वासन दिने तर पछि कहिले फर्केर नआउने भएका कारण यो गाउँको दुर्दशा भएको बताउँछन् । पाँच–दश दशकअघि मेची नदी यो गाउँको पूर्व भएर बग्थ्यो तर त्यही समयमा आएको बाढीले धार परिवर्तन गरेर गाउँको पश्चिम भएर बग्न थालेपछि सबै क्षेत्रबाट यो गाउँ पछि परेको पाइएको छ । बलौटे माटो फुसको घर भएको यो गाउँका मानिस बर्खे धानबाली र व्यावसायिक तरकारीखेती गर्छन् ।

लगभग १५ देखि २० जनाले मेची बगरमा खरबुजा पनि लगाउने गर्दछन् । गएको वर्षमा फलेका खरबुजा १३ मेट्रिक टन काठमाडाँै पठाएको र त्यही बेलामा आएको भूकम्पले तहसनहस भएपछि खरबुजा बिक्री हुन नसकेको कृषकहरु बताउँछन् । अहिले यहाँका जनताले कम्तीमा आफूहरुलाई बिजुली आउनुपर्ने र मेची नदी पार गर्न झोलुङ्गे पुल अविलम्ब बन्नुपर्ने धारणा राखेका छन् । कृषि व्यवसायमा आबद्ध यहाँका किसानका लागि कृषि विकास कार्यालयले बीउबिजन, सिँचाइका लागि बोरिङ, विषादी प्रयोग गर्न स्प्रे मेसिन र अन्य कृषि औजार मागेका छन् भने नगरपालिकाले बाटोघाटो निर्माण गर्न र बिजुलीको तार जडान गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

स्थानीयवासी बाबुलाल राजवंशी, विजय सिंह र अरुण राजवंशीले सरकारी निगरानीको अभाव रहेर पनि मेचीपारिको यो गाउँलाई आफूहरुले सुरक्षित राखेका दाबी गरे । उनीहरुका अनुसार नभए भारतीयहरुको अतिक्रमणमा यो भूमि उतिखेरै परिसक्थ्यो । अहिले पनि गाउँमा भारतीय एसएसबी हतियारसहित आउँदा आफूहरु तर्सिने गरेको उनीहरु बताउँछन् । बर्सेनि २०० बिघामा आलुखेती, लगभग ३० बिघामा काउली, छ बिघामा करेला र त्यति नै क्षेत्रमा मूला उत्पादन गर्ने यो गाउँका कृषकको मुख्य बजार भद्रपुर नै रहेको बताइएको छ ।

आफ्ना उत्पादन बजारसम्म लैजान निकै असुविधा भोग्नु परेकाले नै मेची नदीमा झोलुङ्गेपुलको आवश्यकता भएको उनीहरु औँल्याउँछन् । यो गाउँमा सरकारी निकायको सक्रियता बढेमा थोरै समयमा सबैको पक्की घर हुने र आर्थिक अवस्था पनि बलियो हुने नवजागृति कृषक समूहका अध्यक्ष धिरेन्द्र राजवंशीले जानकारी दिनुभयो । एक कृषकले उहाँ तरकारी उत्पादन गरेर बर्सेनि रु दुई लाख ५० हजार देखि रु तीन लाखसम्म आर्जन गरिरहका छन् । मेची नदीकै छेउमा रहेको यो गाउँमा चरनका लागि पर्याप्त ठाउँ रहेकाले व्यावसायिक तरकारीखेतीसँगै पशुपालन व्यवसाय पनि गर्न सकिने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना बताउनुहुन्छ ।

निकै विकट रहेको र नगरपालिका क्षेत्रमा परेको यो गाउँको विकासका सम्भावना पहिल्याउन आफू १५ पटकभन्दा बढी यहाँ आइसकेको बताउने भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अहिले केही विकासका काम भएको र स्थानीय जनताको पनि नगरपालिकाप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।