निष्ठुरी प्रकोप : पर्वत राज रखाल
कपन अनलाइन
काठमाडौं असोज २०।
एक्कासि कुन मूल फुटी आयौ,
क्षणभरमै आएर ठूलै क्षति पु¥यायौ,
उत्पन्न भई भोटेकोशी नदीमा तिमी,
देखाउन खोज्यौ आफ्नो क्रूर शक्ति ।
यहाँ छाप्रो गुमी कयौँ व्यक्तिको,
रातको निद्रा र सपना हरायो,
बस्ती मात्र बगाएनौ निष्ठुरी तिमीले,
कयौँको भविष्य अन्धकारमय बनायौ ।
घरजग्गा र करेसा त बगाइ छाड्यौ ,
पुख्र्यौली चिनारी र ओत पनि भत्कायौ,
विद्यालय र अस्पताल मात्र बगाएनौ,
लाखौँ कोपिलाका सपनाहरू बगायौ ।
भएभरको संसार गुमाई ती कलिला,
कोपिलालाई रुँदै हिँड्ने बनायौ,
सानै उमेरमा अलग गराई परिवारबाट ,
जिम्मेवारी सम्हाल्न बाध्य बनायौ ।
खेलौना बोकी हिँड्नुपर्ने उमेरमा आज,
थपिदियौ तिमीले नै पीडाको भारी,
भुलेर आफ्नो उमेर र रहरलाई,
बाध्य बनायौ लिन भाइको जिम्मेवारी ।
सबै गुमाएर पनि हार मान्दैनन् यहाँ,
गर्छन् फेरि उठ्ने अदम्य साहस,
सर्वस्व गुमाउँदा पनि सङ्घर्ष गर्ने,
यही त हो नेपालीको पहिचान खास ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
