दसौं राष्ट्रिय खेलकुदको सचिवलय स्थापना
कपन अनलाइन
काठमाडौं असोज २०।
दसौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवलयको उद्घाटन गरे ।
सो अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य–सचिव रविन्द्र चन्द लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले दसौं राष्ट्रिय खेलकुद सम्बन्धी धेरै द्विविधाको अन्त्य गर्न पनि मूल आयोजक समितिको बैठक सुर्खेतमा हुनु पर्ने थियो र बैठक सम्पन्न पनि भएको बताउदै दसौं राष्ट्रिय खेलकुद सञ्चालन गर्नकै लागि प्रदेश सरकारले कर्णाली प्रदेश रंगशालालाई गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको बताए ।
उनले दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार जिम्मेवार ढंगले अगाडि बढेको बताउदै मूल आयोजक समितिको बैठक यहाँ हुनुले संघीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् पनि दसौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह भएको बताए ।
सामाजिक विकास मन्त्री मल्ल र राखेपका सदस्य–सचिव मेहताले दसौं राष्ट्रिय खेलकुद समयमा हुने कुरामा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।
राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ । सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिमको सहभागिता रहने राष्ट्रिय खेलकुदमा विभिन्न ३२ खेलमा प्रतिस्पर्धा हुनेछ ।
