ज्वालामुखी एकछिन त हो : पवनकुमार बुढाथोकी
कपन अनलाइन
काठमाडौं, साउन २३।
सधैँ कोही
कसैका लागि पनि होइन
चाहे आकर्षण भन्नुस्
चाहे विकर्षण
रिसराग, डाह, इष्र्या, घृणा,
माया, प्रेम, स्नेह, सद्भाव
केही कुनै पनि
सधैँभरि रहँदैरहँदैनन्
जसरी रातपछि दिन
दिनपछि रात
अँध्यारो उज्यालो भइरहन्छ
न यहाँ पुरुषत्वको वर्चस्व
न त हावी स्त्री तत्वको ?
दुःख, सुख एकपछि अर्को
आइरहन्छन्, गइरहन्छन्
मौसमजस्तै न हो
जाडो गर्मीको
चक्र चलिरहन्छ
सूर्य, पृथ्वी, ब्रमाण्ड
समस्त चराचर
जगत् नक्षत्र
आँखा घुमेझैँ घुमिरहन्छन्
त्यस्तै गरी
ज्वालामुखी पनि
कहिले जागृत त
कहिले सुषुप्त अवस्थामा
शान्त, भयङ्कर
ज्वालामुखी न हो जीवन !
कहिले जाग्छ त
कहिले मौन रूप धारण गर्दछ
थाहा पत्तो हुँदैन
तैपनि चित्त बुझाउने ठाउँ
जे जस्तो अवस्थामा भए पनि
एकछिन् त हो
यही क्षणमा होस् नगुमाएर
धैर्यपूर्वक साहसपूर्वक बस्न सकेमा
त्यसको प्रहार
र प्रभावबाट पार पाइन्छ
चाहे त्यसले
धुलोधुवाँ, तरल
ठोस पदार्थ जे
जे विसर्जन गरोस्
एकैछिन्को त हो
अजम्बरी स्वरूप
र स्वभाव त
कसैको छैन
जीवनजस्तै
ज्वालामुखी पनि एकछिन त हो !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
