गीत : नवशिला

गीत : नवशिला

कपन अनलाइन

काठमाडौं, साउन २३।

कसको मनमा चैन होला आगो बल्दाखेरि
कसका आँखा थामिएलान् खै देशै जल्दाखेरि ?

आफ्नै तालमा आफ्नै डम्फु किन बजाइरहन्छौ
कहिलेसम्म जात धर्मको नारा भजाइरहन्छौ
गोली लागि आँखै अघि युवा ढल्दाखेरि
कसका आँखा थामिएलान् खै देशै जल्दाखेरि ?

जात धर्मलाई खलबल्याउँदै के को राजनीति
भाइचारा र सद्भावको कहिले बस्ला थिति
कसलाई फाइदा शत्रुताको हुरी चल्दाखेरि
कसका आँखा थामिएलान् खै देशै जल्दाखेरि ?

आफ्नैहरू लड्दा भिड्दा यो मन साह्रै रुन्छ
यो युद्धले भन्नुहोस् न कसलाई फाइदा हुन्छ
नातागोता छरछिमेक बीच कालो दल्दाखेरि
कसका आँखा थामिएलान् खै देशै जल्दाखेरि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।