विद्वत् प्रवचन : डा. टीकाराम पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,साउन २।
विद्वत् प्रवचन चलिरहेको थियो ।
विद्वताशनबाट विद्वान् सारगर्भित प्रवचन दिइरहेका थिए ।
सुरुमा स्रोताहरू ध्यान दिएर सुनिरहेका थिए, तर एकैछिनमा स्रोताहरू आपसमा कानेखुसी गर्न लागे ।
दर्शकदीर्घाबाट एक जनाले जुरुक्क उठेर भन्यो– ‘प्रवाचकज्यू ! तपाईँले भनेको कुरा मैले बुझिनँ । अलि बुभिने गरी भनिदिनुहोला ।’
दोस्रोले उठेर भन्यो– ‘प्रवाचकज्यू ! तपाईँ मिथ्या बोलिरहनु भएको छ, अलि तथ्यमा आधारित भएर बोल्नुस् न ।’
तेस्रोले थप्यो– ‘प्रवाचकज्यूका भनार्इँका भनाइहरू अनुमानमा आधारित देखिन्छन्, आफ्ना भनाइहरूमा संशोधन गर्नुहोस् ।’
चौथोले भन्यो– ‘तपाईँका भनाइहरूले समाजमा भ्रम सिर्जना गर्छ ।’
पाँचौँले सुझाव दियो– ‘प्रवाचकले जुन विषयमा प्रवचन दिने हो, त्यो विषयको गहिराई बुझेर प्रवचन दिँदा राम्रो होला ।’
दर्शकको कुरा सुनिसकेपछि प्रवाचकले भने– ‘तपाईँहरूले मेरो प्रवचनलाई नबुझ्नु, मिथ्या देख्नु, अनुमानमा आधारित भन्नु, भ्रम सिर्जना गरेको देख्नु, ज्ञानको कमी देख्नु एकदम जायज हो । किनभने म पनि यस्ता प्रवचनहरूलाई तपार्इँले जस्तै दिग्भ्रमित देख्थेँ, जतिबेला म तपार्इँको ठाउँमा थिएँ ।’
प्रवाचकले जुँगामा ताऊ लगाउँदै थपे– ‘तर धन्दा नमान्नुस्, एक दिन तपाईँहरू पनि मेरो ठाउँमा आइपुगेपछि मेरा जस्ता विद्वत् प्रवचन सजिलै बुझ्ने मात्र होइन, सबै प्रवचनलाई सत्य र ज्ञानले भरिपूर्ण देख्नुहुन्छ । धैर्य राख्नुहोस् ।’
विद्वताशनबाट प्रवाचक झनै कस्सिएर बोल्दै थिए । स्रोतादीर्घा भने रित्तो भइसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
