चार मुक्तक : गंगा खड्का

चार मुक्तक : गंगा खड्का

कपन अनलाइन

काठमाडौं असार २७ ।
जता फल पाक्छ उतै चरी डुलेपछि
जता फूल फुल्छ उतै डाली झुलेपछि
कसरी गरूँ र तिम्रो नि भरोसा अब,
जता आगो बल्छ उतै मन भुलेपछि ।

छोडी गए पनि तिमीलाई कुर्ने लत बस्यो
तिमीले दिएका घाउहरू पुर्ने लत बस्यो
माया लाग्ने मान्छेलाई मनले माफ गरेर,
हरेक शब्दकुञ्जमा याद फुर्ने लत बस्यो ।

छोडी गयौ भनेर पनि झोक चलेको छैन
तिमीलाई पाउने कुनै भोक चलेको छैन
सिसा जस्तै चर्किएको नातालाई जोगाउन,
बिनासित्ति मेरो मनमा शोक चलेको छैन ।

अरुको बाटो छेकिदिएर आफ्नो बाटो बनाउँछ मान्छे
धर्मपर्म सबै बिर्सिएर आफ्नो जात जनाउँछ मान्छे
जब मानवताको साँध नाघेर आफू रमाउन थाल्छ,
तब सबैको नजरमा ढिलो या चाँडो गनाउँछ मान्छे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।