चार मुक्तक : कृष्णकुमार वैद्य
कपन अनलाइन
काठमाडौं असार २७ ।
प्रयोजनले भिरेको होला नि जनैमा साँचो
होइन भने बेकार घिच्याउन के को खाँचो
कुइरोले ढाकेकै तिर हो कि कतै गन्तव्य,
बोझिलो साँचोले खोल्ने ठूलै होला फाँचो ।
गरिखाने साधन बिगारेर गरियो अभिशाप
निमुखाले मान्नुपर्ने भो शासककै करकाप
चल्दैन सधैं तिम्रा बलमिच्याइ र मनोमानी,
परपीडकले कुनै बखत गर्नुपर्ला पश्चात्ताप ।
मेटिन्न प्यास दूधले पानीको साटो छैन अरू
जरुरत अनुसार लाग्नु जाने बाटो छैन अरू
अवसर सिर्जना नगर्दा अन्यत्र लागे पौरखी,
परिश्रमीलाई योभन्दा उर्वर माटो छैन अरू ।
निसाना साधिरहे सिकाइको गुप्त गन्तव्यमा
सिकाइमा लिप्त छन् सरोकार रहेन द्रव्यमा
गुरु दक्षिणा खातिर औंला काटेर दिँदासमेत,
किञ्चित् संशय छैन श्रेष्ठ शिष्य एकलव्यमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
