एक अञ्जुली पानी सरी हाम्रो जिन्दगानी : सलिन विष्ट

एक अञ्जुली पानी सरी हाम्रो जिन्दगानी : सलिन विष्ट

कपन अनलाइन

काठमाडौं असार २७ ।
विश्वब्रह्माण्डको अनादि रङ्गमञ्चमा;
संसरणशील यो अनन्त शून्यताभित्र,
समयको निमेषभरको कम्पन न हो
हाम्रो पार्थिव अस्तित्वको
यो क्षणभङ्गुर रूपरेखा !
जहाँ जीवन…
करतलको लघु
सोपानमा छटपटाएको
एक विन्दु जल सिवाय
अन्य केही होइन ।

करतलरूपी यस सङ्कुचित
क्षितिजमा कतै स्पन्दित,
कतै निस्पन्द प्रवाहित
यो तरल महाकाव्य,
प्राकृत नियतिको एक निरन्तर
स्खलित अध्याय हो,
जसको आदि र अन्त्य;
दुवै अनादि,
अनन्त र अज्ञात छन् ।

उत्पत्तिका अनन्त बुद्बुदहरू
महासमयको रापिलो तापमा
कतिखेर विलीन हुन्छन् ?
यसको संज्ञान न त विधाताको
लिपिमा छ,
न त कुनै ऋतम्भरा
प्रज्ञाको परिधिमा नै !
मृगतृष्णाको यस महामरुभूमिमा
चिरकालदेखि भौँतारिएको
मानव चेतनाले;
करतलका अदृश्य छिद्रहरूबाट
अविराम चुहिरहेको
श्वासतुल्य जलकणलाई नै,
आफ्नो शाश्वत र अमर साम्राज्य
सम्झिने भ्रम पाल्छ,
तर वास्तविकतामा…
यो विन्दुमा सिन्धु अन्वेषण
गर्ने निष्फल प्रयास मात्र हो ।

हे प्रकृतिका मूक द्रष्टा !
यो मानवीय लीला कतै
गहिराइमा अन्तर्निहित छ,
त कतै उत्प्रेक्षाको
कल्पनारूपी रश्मिमा समाहित ।
जहाँ करतलको पानी;
जति कञ्चन र पवित्र देखिन्छ,
त्यति नै चञ्चल र अस्थिर
भएर महाशून्यतातिर अभिसार गरिरहन्छ ।

जति यसमा शीतलताको आभास हुन्छ,
त्यति नै द्रुत गतिमा
क्षिति–जल–पावक–समीर–गगनको महाआवरणमा
लीन हुने एक
आकुल–व्याकुल आतुरता
यसको प्रत्येक अणुमा स्पन्दित छ ।

विधाताको यो सृजना आफैँमा
एक विराट् रूपक हो;
जहाँ चेतना घट हो,
र श्वास नै करतलमा
सञ्चित त्यो चञ्चल नीर,
जसलाई न त बाँध्न सकिन्छ,
न त सञ्चय नै सम्भव छ ।

जसरी मदमत्त सरिताको वेगले
तटवर्ती दृढ शिलाहरूलाई क्षयीकरण गर्दै
अन्ततः महासागरको अगाध
नीरवतामा आफूलाई
पूर्णतः विसर्जित गर्छ,
त्यसरी नै…
यो मानुषी यौवन,
रूप र अहङ्कारको उद्वेग पनि
कालको अट्टहासभित्र
निःशब्द तिरोहित भएर जान्छ ।

हामी त केवल स्मृतिहरूका
भग्नावशेषमा
वर्तमानको जलमूर्तिका
बुट्टाहरू कोर्न तल्लीन छौँ,
तर विस्मृत गर्छौँ कि;
अंशुमालीको प्रथम
किरणको स्पर्श नै
यस जलबिन्दुको
चरम महाप्रस्थान हो !

गङ्गाको जाह्नवी पवित्रता
र मरुभूमिको दारुण तिर्खा;
दुवैलाई एकैसाथ धारण
गर्ने यो लघु करतलभित्र,
इतिहासका कति आशाका क्षीरसागरहरू मन्थन भए होलान् ?
र कति तृष्णाका हलाहलहरू
कण्ठमै अड्किएर नीलकण्ठ बने होलान् ?
यसको लेखाजोखा कसैसँग छैन ।

तर समयको अनवरत गतिशीलताले
सधैँ यही बोध गराउँछ;
यो तरल साकारतालाई
मुठ्ठीमा कस्ने दुःसाहस नगर,
किनकि यसको धर्म नै प्रवाहित हुनु हो,
र यसको परम सौन्दर्य नै
रित्तिएर शून्यतामा रूपान्तरित हुनु हो ।

जब करतल पूर्णतः रिक्त हुन्छ,
तब मात्र आत्माले
त्यो दिव्य बोध प्राप्त गर्छ;
कि संन्यासरूपी शून्यता नै
यस ब्रह्माण्डको सर्वोत्कृष्ट चरम पूर्णता हो ।

तसर्थ…
यो क्षणभङ्गुर जलकणरूपी
जिन्दगानीलाई
घृणा, अहङ्कार र द्वेषको
पङ्किल कलुषता बनाउनुभन्दा,
परोपकार,
सम्वेदना र अनुरागको
सुगन्धित पीयूष जल बनाउनु नै
यस वसुधाको अनुपम
मानवीय उत्सव हो,
र यो नै जीवनको महाकाव्यिक
सार्थकताको अन्तिम गन्तव्य हो ।
त्यसैले;
हत्केला निथारिएर जान्छ,
यो समयको चक्र हो,
बग्नु नै धर्म हो यसको,
शून्यता नै वस्त्र हो ।
सङ्ग्रहमा कहाँ छ र ?
रित्तिनुमै छ रूप यो,
एक अञ्जुली
पानी सरी
हाम्रो जिन्दगानी !!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।