आर्यघाटको ओम नमः शिवाय र घण्टीको विजयी लहर : जमुना आचार्य कोइराला ( कविता )

आर्यघाटको ओम नमः शिवाय र घण्टीको विजयी लहर : जमुना आचार्य कोइराला ( कविता )

कपन अनलाइन

काठमाडौं असार २१।

धुवाँले आकाशसँग
संवाद गरिरहेको ठाउँ
समय बिस्तारै हिँड्छ
र हरेक सेकेण्डले
आफ्नो अर्थ खोजिरहेको हुन्छ
आगोको ज्वालामा उठेका
धुवाँका रेखाहरू
आकाशतिर उड्दै
प्रश्न सोध्दै
जीवन किन ?
र मृत्यु किन ?
फेरि… के त्यसपछि पनि
केही बाँकी रहन्छ ?
त्यही क्षण
शान्ति चिरेर
स्वर उठ्छन्
ॐ नमः शिवाय…
यो कुनै साधारण
उच्चारण नभएर
आत्माको गहिराइबाट निस्किएको
अनन्तसँगको संवाद
एक कण्ठ होइन
अनेक कण्ठहरूको
समवेत ध्वनि
जसले
पीडालाई शब्द दिन्छ
र मौनतालाई अर्थ
घण्टी बज्छ
टिन्…टिन्…
त्यो पहिलो चोटले
हृदय हल्लाउँछ
टिन् ..टिन् …
दोस्रो चोटले
आँसु झार्छ
टिन्…टिन्..
तेस्रो चोट
जसले
चेतनालाई झकझक्याउँछ
र भन्छ
उठ यो अन्त्य होइन
आर्यघाटमा
हार हुँदैन
यहाँ त
हारको अन्त्य हुन्छ
केवल शरीर जल्दैन
अहङ्कार जल्छ
मोह जल्छ
अपूर्ण इच्छाहरू जल्छन्
आगोको लप्का
कुनै विनाश होइन
यो त रूपान्तरण हो
काठ खरानी बन्छ
शरीर तत्वमा फर्कन्छ
र आत्मामा परिणत हुन्छ
आत्मा त
यात्रा जारी राख्छ
जस्तै नदी बग्छिन्
निर्विकार
निरन्तर
उसले कति
पीडा बोकेकी छिन्
कति कथा बगाइरहेकी छिन्
तर कहिल्यै रोकिँदैनन्
जीवनजस्तै समय…
कोहीको
बिलौना सुनिरहेको
कोही
चुपचाप टोलाइरहेको
कोही
आँखामा आँसु बोकेर पनि
मनभित्र केही बुझिरहेको
किनकि त्यो
ॐ नमः शिवाय
सबैलाई एउटै
सत्यमा पु¥याउँछ
अस्वीकारमा पनि
स्वीकार गरेजस्तो
सोच्दै
कि हामी अस्थायी हौँ
भन्छ मन अझै
एक जुनी बाँचेको
याद रहने
अर्को जुनीको यात्रा
प्रत्यक्ष भेट गर्न गाह्रै पर्ने
देव ग्रह बाहेक आत्माको
पुनः शरीरमा मिलन पहिचान
असम्भव चलिरहेको ….

लगभग शताब्दीपछि
हराउनु पनि
एउटा यात्राको
सुरुवात
कि अन्त्यले नै
नयाँ सुरुवात जन्माउँछ
र घण्टी फेरि बज्छ
त्यहाँ केवल ध्वनि होइन
विजयी लहर बढिरहेको हुन्छ
अनन्त यात्राको
यसले मृत्युको मौनतालाई चिरेर
जीवनको घोषणा गर्छ
पीडाको अँध्यारोलाई चिरेर
आशाको झिल्को बाल्छ
त्यहाँ सुनिन्छ
घण्टी मात्र होइन
समयको धड्कन
अस्तित्वको पुकार
नजिकै चिता बलिरहेको हुन्छ
कति कथा अन्त्य हुँदैछन्
तर सँगै
नयाँ यात्रा सुरु हुँदै छ
धुवाँ माथि उठ्दै छ
आकाश खुल्दै छ
र आत्मा…
आत्मा सीमाभन्दा पर जाँदै छ
घण्टीको कम्पन
नदीको छालमा मिसिन्छ
हावामा घुलिन्छ
र मनभित्र गुञ्जिन्छ
ॐ नमः शिवाय…
ॐ नमः शिवाय…
ॐ नमः शिवाय…
जप अन्त्यको होइन
अनन्तको उद्घोष
त्यसैले
आर्यघाट रोएको
ठाउँ मात्र होइन
बुझेको ठाउँ
यो त
बिर्सिएको सत्य सम्झाउने ठाउँ
जहाँ आगोले सिकाउँछ
छोड्न सिक
नदीले सिकाउँछ
बग्न सिक
घण्टीले सिकाउँछ
जाग्न सिक
र अन्तत
त्यही विजयी
लहरले भन्छ
अन्त्य हार होइन
अनन्त यात्राको
गम्भीर शान्त
र उज्यालोको सुरुवातसँगै
चिहाइरहने
आर्यघाटको
ॐ नमः शिवाय
र घण्टीको विजय लहर!!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।