चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाडौं असार २०।
शिरमा हात आशीर्वाद हुन्छ भर आमा हुँदा
आँगनमा हुन्छन् पिपल अनि बर आमा हुँदा
त्यही हुन्छ चार धाम, मठमन्दिर र देवालय,
हरेक दिन मातातीर्थ हुन्छ घर आमा हुँदा ।
भित्र दुःख दबाएर मुस्कान छरी आमाहरू
मुस्कुराउँदै हाँसिरन्छन् आँखाभरि आमाहरू
ठूलै मान्छे बनोस् चाहे बाँचुञ्जेली सन्तानको,
किन चिन्ता लिन्छन् कुन्नी घरि घरि आमाहरू ।
काटी जीवन करौतीले के गर्दैछन् आमाहरू
सोधिरा’छन् घर कौसीले के गर्दैछन् आमाहरू
छिचोलेर अक्करहरू हिँड्ने गर्थे लक्ष्य पुग्न,
सम्झन्छु म साँच्चै अहिले के गर्दैछन् आमाहरू ?
अभाव टार्न सबैथोक जुटाउने आमा हुन्छिन्
सन्तानका खराब आदत छुटाउने आमा हुन्छिन्
सकिएर आफू सधैँ परिवारका निम्ति हरदम,
हाँसी हाँसी सारा खुसी लुटाउने आमा हुन्छिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
