धनवान बनी कति मख्ख यहाँ : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
१. धनवान बनी कति मख्ख यहाँ
धनहीन बनी कति दिक्क यहाँ
न मिलाउन हुन्छ म भित्र बुता
किन लेख्नु बसेर यहाँ कविता
२. छलछाम गरी कति काम चले
बदनाम गरी कति नाम चले
हुनुहुन्न भनूँ तर छैन बुता
कुन अर्थ रचेर यहाँ कविता
३. परिवर्तन गर्छु भनेर लडे
त्यसबाट कयौँ पदमाथि चढे
तल झन् तल पुग्नु प¥यो जनता
किन रच्नु र अक्षर वा कविता
४. बल हो दल भन्नु भनी कुदियो
दल हेर्दछ के सब त्यो बुझियो
गर बात सके दिलका छरिता
कुन काम चल्यो र रची कविता
५. दिन रात छरी श्रम भोक परे
दिन रात परिश्रम लुट्छ हरे
यदि शोषण त्यो सहनै छ यता
कुन धेय लिएर रचौँ कविता
६. कविता कसिलो रसिलो भरिलो
कविता छरितो अथवा दरिलो
र प्रफुल्ल छ खै कहिले सरिता
किन रच्नु अनेक यहाँ कविता
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
