मेरो प्यारो देश : डा.रामेश्वर अधिकारी ( कविता )

मेरो प्यारो देश : डा.रामेश्वर अधिकारी ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

सगरमाथा सरी उच्च, मेरो यो देश गौरव,
अगाध स्निग्ध त्यो रारा, फेवा संस्कृति सौम्य छ ।
बिहानीमा मधुर कलरव, गाउँछन् पन्छी नाना
कसले आँट्ला कहन महिमा, यो स्वातन्त्र्य गाना !

विश्व–शिर हिमगिरि चुचुरा, छाती तिम्रो विशाल,
मेची–काली सतत बहने, दूधका दिव्य धारा।
मस्र्याङ्दी, गण्डकी, कोशी, नसामा रक्तधारा,
वासन्ती बास बोक्ने बनकुसुमका पल्लव दृश्य सारा ।

महिमा–जलधि तिम्रो, पौडिन्छु इतिहासमा,
वीरको रक्त–सिञ्चित, पावन यस भूमिमा ।
देखाए हृदय खोली, अक्षरमा मसी–जीवीले,
हाड–मासु थुपारेर, थपे उचाइ वीरले ।

राखेर छातीमा हात, साक्षी राखेर यो मुटु,
प्रतिज्ञा गर्दछु आज, अटल छ मेरो प्रण ।
सम्पूर्ण जीवन मेरो, देशकै हितमा रहोस्
नासो यो जिन्दगी मेरो, देशको निम्ति अर्पण ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।