कि मान्छे स्वयम् ? त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
लुकाएर दुःखी कथा जिन्दगीको
दबाएर सारा व्यथा जिन्दगीको
न सग्लो छ आस्था न सग्लो छ छाती
कि मान्छे स्वयं बन्न खोज्दैछ घाती ?
न भेटिन्छ टुप्पो न भेटिन्छ छेउ
कतै सोध्न खोज्यो न भेटिन्छ भेउ
छ गर्मी असाध्यै, छ निष्पन्न राती,
कि बेला स्वयं बन्न खोज्दैछ घाती ?
कला बिक्न छोडेर नाङ्गो हुँदैछ
सफा छैन विश्वास बाङ्गो हुँदैछ
र सन्त्रासमै बड्न खोज्दैछ साथी
कि बाटो स्वयं बन्न खोज्दैछ घाती ?
उज्यालो टिपी हिँड्न सक्दैन मान्छे
समस्या बुझी भिड्न सक्दैन मान्छे
कुनै लक्ष्यमा छैनश्रध्दा र पाती
कि आशा स्वयं बन्न खोज्दैछ घाती ?
हटाएर रात्री उठेझैँ प्रभात
ठटाएर नांग्लो बढेझैँ समाज
दुरुस्तै बनी पार्न जानेन भाँती
कि उत्साहनै बन्न खोज्दैछ घाती ?
रच्यो हो कि पैसा मिलाई नशामा ?
धरा रुन्छ छाती पिटी दुर्दशामा
र एक्लै छ मान्छे को कहाँ छन् जाति ?
कि बेला स्वयं नै बन्यो आत्मघाती ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
