खुशीको गाउँ उपन्यासमा भुटानी शरणार्थीको यथार्थता : रामकुमार पण्डित
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
आमाको डायरी (२०७३) कथा संग्रह प्रकाशन गरिसकेकी कवि खगिन्द्रा खुसीको नवीन उपन्यास हो खुशीको गाउँ । राजेन्द्र र राधा नायक र नायिकाको भूमिकामा रहेको उपन्यास खुसीको गाउँले भुटानबाट आएका शरणार्थीहरूको जीवनलाई यथार्थ चित्रण गरेको छ । कसरी झापाको खुदुनाबारी जस्ता क्षेत्रहरू शरणार्थीले भरिए ? उनीहरूले जीविकोपार्जन गर्नलाई के कस्ता संघर्ष गरे भन्ने कुरा शब्दचित्रमा उतारिएको पाइन्छ । शरणार्थीहरूलाई बस्नको लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । त्यही कारण शरणार्थीहरूको जीवन झापाको स्थानीयहरूको तुलनामा राम्रो पनि देखिन्छ । उनीहरू एक छाक खान र एक धरो लाउन स्थानीयभन्दा सक्षम हुन्छन् । यस पुस्तकमा उनीहरूको जीवन र झापाका स्थानीयहरूको जीवनको तुलनात्मक अध्ययन छ । उनीहरूकै कारण झापामा कतिपयले रोजगारी पाएका छन् । स्थानीय महिलाहरूले जङ्गलबाट दाउरा सङ्कलन गरी शरणार्थीलाई बेचेर आम्दानी गरेका छन् । आफ्नो उब्जनी बेच्ने गरेका छन् । अर्कोतर्फ शरणार्थीहरूले सस्तो ज्यालामा खेतबारीका काम गरिदिएका छन् ।
शरणार्थीहरूमा राष्ट्रियताको अभाव भएको, स्थानीयहरू शरणार्थी भन्दा पनि गरिवीमा रहेको आदि जस्ता विषयहरू यहाँ प्रस्तुत भएका छन् । यस्तो शरणार्थी बस्ती एक दिन उजाड हुन जान्छ । अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता देशमा शरणार्थीहरू पुग्छन् यद्यपि कतिपयको परिवारै कोही कुन देशमा कोही कुन देशमा भएर छुट्टिन्छन् । यसरी छुट्टिनु पर्दा उनीहररू दुःखित छन् । उपन्यासको पात्र राजेन्द्र अमेरिका पुग्छ । उपन्यासको प्रमुख पात्र राधा स्थानीय महिला हुन् । विद्यालयमा पढ्दाखेरि नै भुटानी शरणार्थी युवक राजेन्द्रसँग उनको चिनापर्ची हुन्छ । उनीहरूवीच भेटघाट बढ्दै गएर बिस्तारै बिस्तारै प्रेममा परिणत हुन्छ । तर स्थानीयले शरणार्थीलाई हेलाको दृष्टिले हेर्ने हुँदा शरणार्थीसँग राधाको बिहे हुन सक्दैन । उनीहरू अरूसँगै बिहे गर्छन् । तर पनि उनीहरू बीचमा प्रेमको भाव जीवितै हुन्छ । बिहे गरेको आफ्नो पतिपत्नी बीचमा उनीहरू सन्तुष्ट हुँदैनन् । सोही प्रेमकै कारण राधासँग भेट्नलाई राजेन्द्र अमेरिकाबाट एकदिन फर्कन्छ । राधालाई सक्दो प्रेम देखाउँछ । अन्तत्वगत्वा उनीहरू विवाहित भएपनि एकदिन हनिमुन मनाउँछन् । राजेन्द्रले पाँच लाख रुपैयाँ सहयोग गर्छ । दुःखी राधाले फूलबारीको खेती गर्छिन् । फूल खेतीबाट मनज्ञ आम्दानी गर्छिन् । उदाहरणीय उद्यमिक रूपमा परिचय बनाउँछिन् । अन्तमा खगिन्द्रा खुसीलाई पत्रकारको रूपमा उभ्याइएको छ । उनले घोस्ट राइटर भएर राधाको यो कथा लेखिएको पाइन्छ । उनले लेखेको पाण्डुलिपि राधाले पढेर खुसी व्यक्त गरेकी छन् ।
एउटा अचम्मको कुरा चाहिँ राधाको बिहे हुन्छ श्रीमान विदेश नजाउन्जेलसम्म उनीहरूमा यौन सम्पर्क पनि हुन्छ तर राधा कहिल्यै गर्भवती हुन्नन् । के उनी बाँझो महिला थिइन् त ? यो खुला समापनको रूपमा पाठकको मनमा रहने देखिन्छ ।
उपन्यासमा चलायमान पात्रहरू थोरै छन् जति छन् उनीहरूको भूमिका राम्रो देखिन्छ । आयामको रूपमा उपन्यासले राजधानी काठमाडौँ, झापाको धेरै क्षेत्र, भारतको केही ठाउँहरू लगायत अमेरिका युरोपसम्म छोएको छ । झापाको भाषाशैली स्थानीय लवज यसमा सघन भएर उभिएको देखिन्छ । उपन्यासमा धेरैजस्तो वर्णनहरू संस्मरणको शैलीमा आएको देखिन्छ । पठनीय कृति खुसीको गाउँकी उपन्यासकार खगिन्द्रा खुसीलाई बधाई तथा कृति सफलताको शुभकामना !
पुस्तकः खुशीको गाउँ
मूल्यः रु ६५०
प्रकाशकः विश्व भूटानी साहित्य संगठन
संस्करणः २०८२ असार
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
