संवेदना :देबी प्रसाद थापा ‘मामा’ (लघुकथा)

संवेदना :देबी प्रसाद थापा ‘मामा’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

साँच्चिकै अनौठो अदालत !
न्यायाधीशको कुर्सी खाली थियोे ।
प्रतिवादीको कठघरामा मानव उभिएको थियो ।
पहिलोपटक कर्मचारी करायो, “पहिलो साक्षी हाजिर हो ।”
पहिलो साक्षी बोल्यो, “मैले यिनलाई जीवन दिएँ । प्राण दिएँ । तर यिनले मलाई फोहोरको खानी बनाएर मिल्क्याइदिए ।”
दोस्रोपटक पुनः कर्मचारी करायो, “दोस्रो साक्षी हाजिर हो ।”
दोस्रो साक्षीले भन्यो, “मैले यिनलाई सास दिएँ । बास दिएँ । छायाँ दिएँ । तर यिनले मलाई व्यापार बनाएर बेचिदिए ।”
तेस्रोपटक फेरि कर्मचारी करायो, “तेस्रो साक्षी हाजिर हो ।”
तेस्रो साक्षीले कुरा राख्यो, “मैले यिनलाई वर्षा दिएँ । राप र ताप दिएँ । तर यिनले मलाई विषको बारुद भरिदिए ।”
त्यसपछि न्यायाधीश आए ।
उनले गहिरो स्वरमा भने, “तिमी सर्वश्रेष्ठ ! मानव ! तर तिमीले संवेदना गुमायौ ।”
यतिबेला चारैतिर सन्नाटा छायो ।
अदालतबाट बिस्तारै बाहिरिए – समय ।

तपाइँको प्रतिक्रिया ।