कपाल काट्ने मेसिन : विश्वजित गुप्ता (विशाल)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
एस.ई.ई.को बोर्ड परीक्षा नजिकिँदै गर्दा बिहान र साँझका थप कक्षाहरू सञ्चालन हुँदै थिए । आज पनि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू आफ्ना कपाल काटेर आएनछन् । कति अटेरी गरेका के ? यी केटाहरूले त साँच्चै दिक्क पारिसके । बैशाखदेखि यिनलाई सिकाउँदासिकाउँदै चैत्र महिना आइसक्यो तर यिनका बानी कहिले सुध्रिने हो कुन्नि ? साना विद्यार्थीहरू यिनीहरूबाट के सिक्लान्, खै ? आज त रामधुलाइ गर्नुपर्ला जस्तो छ ।
एकाबिहानै विद्यालयका उप–प्रधानाध्यापक कराउँछन् । उनी आफ्नो हातमा भएको एउटो लौरो बोकेर कक्षाकोठाभित्र छिर्छन् । विद्यार्थीहरूलाई त्यस विषयमा प्रश्न सोध्दा त उनीहरूले फेरिपनि एकपटक पहिलाको झैँ बहाना बनाउँछन् । उनीहरूको कुरा उप–प्रधानाध्यापक सरले बुझ्दाबुझ्दै पनि एकपटक पहिलाझैँ अन्तिम चेतावनी दिने निर्णय गर्छन् र दिन्छन् । उनले कडा बन्दै भन्छन्,“ तिमीहरूलाई विद्यालय प्रशासनले चेतावनी दिँदादिँदै थाकिसकेको अवस्थामा आइपुगेको छ तर तिमीहरूलाई केही लाजसरम छैन । हामीले पनि अनुशासनमा बस्न भनेर कति सम्झाउने ? भोलि शनिबार हो अर्थात् बिदाको दिन । पर्सि कपाल चट्ट मिलाएर, चिटिक्क परेर आएनौँ भने हामीले तिमीहरूलाई जानेकाछौँ ।” विद्यार्थीहरूले डराउँदै जवाफ फर्काउँछन्, “हस् सर, हामी आ–आफ्ना कपाल मिलाएर आउने छौँ ।”
आइतवार पनि आयो तर विद्यार्थीहरूको कपाल छोटो भएन ।यसपालि फेरि उप–प्रधानाध्यापक सबै केटा विद्यार्थीहरूलाई कक्षाकोठा बाहिर निस्किन आदेश दिए र तिनीहरू पनि उनको निर्देशनअनुसार बाहिर निस्के । त्यसपछि, लामो र सिधा लाइन बनाए । लाइनमा उभिएका विद्यार्थीहरूलाई लौरो देखाउँदै उक्त शिक्षकले फेरि प्रश्न सोधे । तर, यसपालि कसैले पनि केही जवाफ दिएनन् र यिनी पनि चेतावनी दिने धुनमा थिएनन् । केही विद्यार्थीहरू डराउँदाडराउँदै एकछिन पछि अनौठा प्रश्नहरू सोधे । तीमध्ये केही सवालहरू यस्ता थिए, कपालको पढाइमा के सरोकार ? वैज्ञानिकहरूको कपाल प्राय किन लामो हुन्छ ? के उनीहरू अनुशासित हुँदैनन् ?
शिक्षकले केही उत्तर फर्काएनन् । उनी अहिले केहीपनि सुन्ने मनस्थितिमा थिएनन् । लगातार अटेरी गर्ने विद्यार्थीहरूले सजाय पाउनैपर्छ भन्ने उनको सोच थियो । उनी तत्काल प्रधानाध्यापक सरको कार्यलयमा पुगे र गुनासो गरे । प्रधानध्यापक सरको सल्लाहबमोजिम उनले तुरुन्तै कैँची र कपाल काट्ने मेसिन मगाए र केही ढिलो नगरी सबै केटा विद्यार्थीहरूको कपाल आफ्नै तरिकाले काटेर धेरै मिहिन बनाई सजाय दिए । कतिपयका कपाल त हेर्ने लायक पनि छाडेनन् । केही विद्यार्थीहरू एकै छिन रोए भने केहीले त रिसाए अनि अरूले आ–आफ्ना घरमा अभिभावकहरूसँग गुनासो पनि गरे । तर, अब हुनेवाला केही पनि थिएन । अर्को दिनबाट केही विद्यार्थीहरू निरन्तर कक्षामा उपस्थित हुन छाडे । अभिभावकहरू फोनमाथि फोन गर्न थाले । केही विद्यार्थीहरू भने टाउकामा टोपी लगाएर वा रुमाल बेरेर आउन थाले ।
घटनाको ठीक एक हप्तापश्चात् कक्षा १० को बिदाइ कार्यक्रम प¥यो । प्रधानाध्यापक, उप–प्रधानाध्यापक, शिक्षकशिक्षिकाहरू र केही विद्यार्थीहरूले आफ्ना मन्तव्य राखे । बिदाइ कार्यक्रमको लगभग अन्तिममा कक्षा १० का विद्यार्थीहरूले विद्यालय प्रशासनलाई, विषेशगरी प्रधानाध्यापक र उप–प्रधानाध्यापकलाई केही चमत्कृत कोसेली प्रदान गर्ने अनुमति मागे । अन्तिममा चम्किला र सुन्दर आवरण भएका दुईवटा अलगअलग बक्सहरूभित्र प्याक गरिएका उपहारहरू एकएकवटा प्रधानाध्यापक र उप–प्रधनाध्यापकलाई ती विद्यार्थीहरू हस्तान्तरण गरे । ती दुवै शिक्षकहरू चकित परे । अचम्म मान्दै तिनले आ–आफ्ना हातमा भएका उपहारहरूका आवरण निकाली बक्स खोल्दा प्रधानाध्यापक सरको बक्सबाट कपाल काट्ने मेसिन र उप–प्रधानाध्यापक सरको बक्सबाट कैँची बाहिर निस्कियो । अब रुने पालो भने यिनका थियो । दुवैजना पुराना दिन स्मरण गरे र भावुक भए । त्यहाँ उपस्थित सबै शिक्षकशिक्षिका र विद्यार्थीहरूका आँखा पनि रसाए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
