चार मुक्तक : अनिता कार्की सान्नानी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ५।
जिन्दगीको सफर निकै ढिलो हुन थालेको छ
सुख कम दुःख झन्झन् फराकिलो हुन थालेको छ
कर्म त जहाँसम्म लाग्छ राम्रै गरेकी हुँ मैले पनि,
खै किन मेरो भाग्य अचानक धमिलो हुन थालेको छ ।
भुल्छन् जन्मदिने आमा पनि हुन नारी कसो गर्ने होला
बेचिन्छन् अझ चेली सीमा पारी कसो गर्ने होला
फक्रदै गरेका ती कलिला फूलहरू कोपिलामै झर्छन्,
खुलेआम हिँडेका छन् बलात्कारी कसो गर्ने होला ?
समयसँगै को कसरी किन बदलियो मलाई थाहा छ
कस्ले कति बिर्सियो या त सम्झियो मलाई थाहा छ
ए ! मूर्ख मलाई गलत नबनाउ आफैँ गिर्न सक्छौ,
पानी माथिको ओभानो त को थियो मलाई थाहा छ ।
ढिला होला तर गन्तव्य पुग्ने लक्ष्य राखियो गुनासो छैन
त्यसैले आफ्ना सबै आफन्तबाट टाढियो गुनासो छैन
भोलिको सुनौलो भविष्य कल्पना गर्दै आज फेरि,
हातमा लिएर राहदानी परदेश हिँडियो गुनासो छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
