अभावको पहिरोमा सङ्कल्पको जून : टहल दाहाल नविकरण

अभावको पहिरोमा सङ्कल्पको जून : टहल दाहाल नविकरण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।
कुरूप हुँदै छ गाउँको स्वरूप
बादल मडारिँदै छ आकाशमा दिन प्रतिदिन
केवल आर्दशको बगरमा
हिँडिरहेको छ राष्ट्रिय झण्डा
किन आँसुको प्रत्येक थोपाहरूमा
किष्णभिरझैँ खसिरहेको छ देश दिन प्रतिदिन ?
डँढेलोले खाएको सालको रूखजस्ता
हँुदै गइरहेछन् मान्छेहरू
किन खडेरीले खाएको सूर्यमुखीजस्ता
उदासीको गीत गाइरहेछन् नाराणयण गोपाल र शैलुङहरू?
किन खुम्चिँदै खुम्चिँदै
गएका हुन् रहरका भूगोलहरू रहरभित्र ?

म पढिरहेछु मेरो इतिहास
म खोजिरहेछु मेरो भविष्य

दिनदिन गाँउ छोडिरहेछन् पर्वतहरू
रातरात
सहरबाटै हराइरहेछन् छेकुडोल्माहरू
आफैँलाई उर्तान नसकेर अक्षरहरूमा
बेला कुबेला मरिरहेछन् कुकुरझैँ नवकिरणहरू
अचेल गाउँमा छैनन् गाँउहरू
समयको सङ्गीन सडकमा, छैनन् सहरहरू सहरमा !

दिन रात इतिहासकै धरहराबाट हामफालेर
किन मर्दैछन् आज भोलिका भीमसेन थापाहरू ?

डलरको हरियो घाँसमा मोहित विवेकहरू
रेमिट्यान्स पठाइरहेछन् कि राता बाकसहरू ?

साथी, छोडिदिऊँ यी सब निरासाको
कथा हाल्न
म जब हुन्छु आगोमा पनि
स्वयम् कर्मको कर्णाली
अभावको पहिरोमा पनि
सङ्कल्पको एउटा जून खस्छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।