चार मुक्तक : नविन बोहरा
कपन अनलाइन
काठमाण्डौ ,चैत २८।
भाग्यले पनि खै कस्तो खेल खेलायो
जित्नुपर्छ भन्दै मलाई हार देखायो
मानिस गए याद अझैसम्म बाँकी छन्,
तर मनले मनबाट तस्वीर भने मेटायो ।
प्रतिस्पर्धाको मेरो युद्ध आफैँसँग थियो
के अशुद्ध अनि के शुद्ध आफैँसँग थियो
अनुहार हेरी कसैको मूल्यांकन नगर्नुस्,
यहाँ बुद्धि र विवेक, बुद्ध आफैँसँग थियो ।
खराब बानी छ कसैलाई रोदन दिन सक्दिनँ
कदर गर्न नजान्नेलाई तन मन दिन सक्दिनँ
बरू चैत बैशाखको खडेरी बन्न तयार छु,
जानाजान भुल गरेर जीवन दिन सक्दिनँ ।
तिमी जस्तो व्यक्ति मैले कतै भेटिन कहिल्यै
आफ्नै अस्तित्व मेटिने खेल खेलिन कहिल्यै
भलै म भने दुई ढुङ्गा बिचको तरुल भएपनि,
संस्कार बिर्सेर स्वाभिमान बेचिन कहिल्यै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
