चार मुक्तक : मञ्जु सिग्देल
कपन अनलाइन
काठमाण्डौ ,चैत २८।
बरालिन खोज्छ त्यसै लफङ्गा भएर
आउँछन् कल्पनाहरू हूलदङ्गा भएर
म जहिले दह जस्तै स्थिर हुन खोज्छु,
मन प्रेमसागर भेट्न खोज्छ गङ्गा भएर ।
गहिराइमा नपुग्दै किनारा लगायो भने
घाममा रमाउँदै गर्दा बादल छायो भने
कसरी बाँच्ने होला लाग्छ साथी हामी,
सँगै चल्दाचल्दै छुट्ने दिन आयो भने ।
धनी गरीब छुट्टाएर सम्बन्ध तोडेकाहरुले
रित्तो हात देख्दा बिचमै साथ छोडेकाहरूले
स्वार्थका लागि अँगालो हाल्न आइपुग्ने रहेछन्
हिजो तिरस्कार गरेर बाटो मोडेकाहरूले ।
चञ्चल मन ज्ञानले , स्थिर बनाउन नसक्नु
विश्वासको बिरुवा रोपेर हुर्काउन नसक्नु
तिम्रै दोष हो, भोग्नू तिमीलेनै जिन्दगीभर प्रिय,
चोखो मायाको फूलबारीमा रमाउन नसक्नू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
