बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता
कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
बाल साहित्य महोत्सवको अवसरमा बुढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सम्पन्न एकल गायन प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलका शुभन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा भण्डारीले आफ्नो स्वरमार्फत अद्भुत कला प्रस्तुत गरेर पाँच हजार नगद पुरस्कारसहित प्रशंसापत्र तथा ट्रफी पाएका थिए। प्रमुख अतिथिका रूपमा नगर प्रमुख मिठाराम अधिकारी तथा विशिष्ट अतिथिका रूपमा गायिका कुन्ति मोक्तानको गरिमामय उपस्थिति रहेको सो कार्यक्रममा ४२ विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्दै भण्डारीले सान्त्वना पुरस्कार पाएका थिए ।
सानैदेखि गायनमा रुचि राख्ने शुभनको गायन कलालाई अझै उत्कृष्ट बनाउनका लागि विद्यालयले खेलेको भूमिकाप्रति आफू सदैव कृतज्ञ रहेको कुरा उनले व्यक्त गरेका छन् ।
शुभनलाई प्रशिक्षण गर्नुहुने सङ्गीत शिक्षक बलराम समाल, अतिरिक्त संयोजक शुकमान लामा , विद्यालय संयोजक लक्ष्मण तितुङलगायतलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले पनि शुभनलाई सम्मान गरेको छ ।
यस्ता प्रकारका कार्यक्रमहरूले बालप्रतिभाहरूको क्षमता उजागर गर्दै उनीहरूलाई प्रोत्साहन दिने भएकाले विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठ , संस्थापक प्राचार्य महेश कुमार श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेश श्रेष्ठले आयोजकप्रति धन्यवाद ज्ञापन गरेका छन ।
