सम्बोधन; युद्धग्रस्त भूमिबाट : अञ्जु चालिसे (रूपाञ्जली)

सम्बोधन; युद्धग्रस्त भूमिबाट : अञ्जु चालिसे (रूपाञ्जली)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

आमा…
यदि म फर्किन सकिन भने
मेरो नाम लिँदा आँसु होइन,
बरु आशीर्वाद झारिदिनु ।
म सधैं तपाईंको काखमा निदाउन खोज्थें,
तर आज यो विदेशी भूमिमा
तपाईंको सम्झनाले नै मलाई अँगालो हालेको छ ।

मेरो लागि धेरै नरुनु है आमा ।
तपाईंको स्वास्थ्य बिग्रियो भने
मेरो आत्माले शान्ति पाउनेछैन ।
मलाई सम्झँदा
मेरो बाल्यकालको हाँसो सम्झिनु,
यो बिछोडको पीडा होइन,
त्यो निश्चिन्त समयको उज्यालो आशीर्वाद हो ।

बुबा…
यदि म अधुरो फर्किएँ
अथवा, फर्किनै सकिन भने,
मेरो कमीलाई कमजोरी नठान्नु ।
म अन्तिम क्षणसम्म
हजुरले सिकाएको
इमानदारी र साहसको आधार मै उभिएको थिएँ ।
यदि हार सम्झिनुभयो भने
त्यो परिस्थितिको हार मान्नु है,
मेरो प्रयासको होइन ।

दिदी, भाइ, बहिनी…
आफ्नो जीवन नरोक्नु है ।
मेरो सम्झनामा आफूलाई अधुरो नबनाउनु ।
म जहाँ भए पनि
तिमीहरूको खुसीको कामना गर्दै बस्नेछु ।

मेरी प्यारी अर्धांगिनी….
मलाई माफ गर है
तिमीसँग सात फेरोमा बाँधिएको
जीवनभरको साथ
परिस्थितिको आँधीले अधुरो बनाइदियो भने ।

यदि म फर्किन सकिन भने
आफ्नो सिन्दूरलाई शोकको प्रतीक नबनाउनु ।
मेरो नामले तिमीलाई बाँध्न खोज्दैन ।
जीवन अगाडि बढाउनु ।
मेरो प्रेम तिमीलाई रोक्न होइन,
तिमीलाई अझ बलियो बनाउन थियो ।

मलाई बिर्सनु भनेको त होइन—
तर मेरो यादलाई बोकेर
आफ्नो जीवनमा आउने
खुसीलाई तगारो नलगाउनु है ।

मेरो साना छोराछोरी…
यदि कसैले “तिम्रो बाबा…” भनेर
अधुरो वाक्य बोल्यो भने,
तिमीहरू गर्वले पूरा गरिदिनु—
“मेरो बाबा डरले होइन,
कर्तव्यले टाढा हुनु भयो ।”

मेरो तस्बिरसँग मात्र कुरा नगर,
मेरो सपना बाँचेर देखाऊ ।

मेरा साथीहरू…
हामीले सँगै बाँडेको हाँसो
मेरो लागि अमूल्य थियो ।
यदि म फर्किन सकिन भने
मेरो नाममा एकपटक
घर सम्झेर मुस्कुराइदिनु ।

मेरो गाउँ…
मेरो देश…

यदि म फर्किन सकिन भने
मलाई कमजोर नठान्नु ।
मेरो रगत
पराजयको कथा होइन,
मायाको प्रमाण हो ।

म यो भूमिमा उभिँदा
केवल सीमा होइन,
घरका सपना जोगाइरहेको थिएँ ।

र अन्तिम क्षण आयो भने—
म आकाशतिर हेरेर
यति मात्रै सोच्नेछु—
कहिल्यै नफर्किने डरभन्दा
नफर्किए पनि गर्व गर्न सक्ने जीवन सुन्दर हुनेछ ।।

तर सत्य यो पनि हो—
म अझै फर्किन चाहन्छु ।
म अझै आँगन टेक्न चाहन्छु ।
म अझै आमाको हात समातेर
बुढेसकालको सहारा बन्न चाहन्छु ।

त्यसैले यदि म फर्किन सकिन भने—
मेरो अधुरो चाहनालाई
तिमीहरूको साहसले पूरा गरिदिनु ।

किनकि
बाध्यताले बिछोड हुन सक्छ,
तर माया कहिल्यै हराउँदैन ।
शरीर टाढा हुन सक्छ,
तर सपना
घरको आँगनमै बाँचेको हुन्छ ।

र एकदिन
जब मन्द मन्द हावा चल्छ,
जब आकाश शान्त देखिन्छ—
त्यो क्षण सम्झिनु,

म त्यहीँ कतै
तिमीहरूकै वरिपरि हुनेछु
माया र प्रेमको स्पर्श बनिरहनेछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।