मैले जितेमा यसो : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
आयो फेरि चुनाव देशभरि नै आशा अनेकौँ बुनी
भन्दैछन् जनता जिताउनु प¥यो व्यक्तित्व राम्रो चुनी
ऐले सम्म पुगे अनेकन त्यहाँ खै के गरे के कसो ?
गर्थेँ सभ्य समाज स्थापित यहाँ मैले जितेमा यसो
खाका देश विकासको गहकिलो बोकेर बढ्थेँ अघि
सारा भेद विभेदका प्रहर यी रोकेर बढ्थेँ अघि
नानी आज विदेशिनु सब प¥यो भन्ने कुराले डस्यो
खोज्थेँ के छ उपाय रोक्न सब त्यो मैले जितेमा यसो
पढ्ने जागिर मात्र खोज्दछ यहाँ गर्दैन केही अरू
मात्रै खोज्दछ त्याग्न नागरिकता सोच्दैन केही अरू
यै पाखा वन फाँटमा सुख हुने खोज्दैन के हो कसो
भन्थेँ पाठहरु पढाउनु नयाँ मैले जितेमा यसो
जान्छन् साधनश्रोत खेर नहुँदा उद्योग धन्दाहरू
खान्छौँ नित्य किनी किनी डलरमा बेच्दै भएको बरु
भन्दैछन् सरकार लग्दछु उचो खोज्दै अँध्यारो फस्यो
भर्थेँ राष्ट्रिय स्वाभिमान सबमा मैले जितेमा यसो
छन् आन्दोलनमात्र चित्त नबुझी कुद्नै परेको किन ?
सत्तामा रहने अस्वीकत बनी चाँडै झरेको किन ?
पैसा के विष हो गए जति सबै चोखो नराखी डस्यो
फर्कन्थेँ नि सफा हुँदै सडकमा मैले जितेमा यसो
दाताका पछि लम्पसार जहिल्यै हामी परेको किन ?
भन्छन् भोक अगाडि आउँछ भनी आमा बुबा दिन्दिन
यो साङ्लो अब चुँड्नु पर्छ रिनको उल्टो यसैले चुस्यो
गर्थेँ चिन्त आत्मनिर्भर हुने मैले जितेमा यसो
हाँस्दैनन् लिपु लिम्पिया किन भनी सोध्दै नखोज्ने पनि
सुस्ताले कति पोख्नु आँसु तर त्यो खोज्दै नखोज्ने पनि
नेता बन्न उचालिँदै छ हित यै स्वार्थीपनाले खस्यो
गर्थेँ हाँस्न सुहाउने मनहरू, मैले जितेमा यसो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
