सुरक्षित हात, उज्यालो काम : याम बहादुर थापा मगर (कविता)

सुरक्षित हात, उज्यालो काम : याम बहादुर थापा मगर (कविता)

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

हातमा पसिना हुन्छ,
तर त्यो पसिनामा देशको इँटा बन्ने शक्ति हुन्छ ।
मेसिनको आवाज भित्र,
मान्छेको धड्कन लुकेको हुन्छ ।
त्यो धड्कन सुरक्षित रहोस्,
त्यो सपना जीवित रहोस् ।

कामको ठाउँ केवल कमाईको ठाउँ होइन,
जीवन बाँच्ने, सम्मान कमाउने मन्दिर हो ।
जहाँ हेल्मेट टाउकोको ढाल हो,
जहाँ मास्क सासको रक्षक हो,
जहाँ चेतना नै सबैभन्दा ठूलो औषधि हो ।

हाम्रो देशले ऐन लेख्यो, नियम बनायो,
तर तिनलाई जीवनमा उतार्ने हात अझै खोजिरहेछ ।
अब समय छ ।
प्रशासनले निगरानी बढाओस्,
रोजगारदाताले सुरक्षा प्राथमिकतामा राखोस्,
श्रमिकले ज्ञान र आत्मरक्षा दुवै सिकुन् ।

डिजिटल युगमा सेन्सर र डेटा सँगै
मानवताको संवेदना पनि जोडिओस् ।
कम्पनीहरूको नाफासँगै
श्रमिकको स्वास्थ्य र सन्तोष पनि गनियोस् ।

सुरक्षित हात, उज्यालो काम ।
यही हो विकासको मुटु,
यही हो समृद्धिको साँच्चो स्पन्दन ।
जहाँ प्रत्येक कामदार मुस्कुराउँछ,
त्यहीँ राष्ट्र बलियो हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।