सिउनुस्, बनाउन देश : प्रशुराम अधिकारी ( कविता )

सिउनुस्, बनाउन देश : प्रशुराम अधिकारी ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

महोदय,
पुर्खाको गौरवपूर्ण साहसले
शृङ्गारिएको विगतलाई जीवन्त राख्न
सिकाउनुस् श्रमले सजाउन देश

हिजो हतारमा
परिवर्तनको हलो कुदाउँदा
छोडिएका असमानताका राँटाहरूमा
विवेकको कोदालोले खोस्रन सिकाउँनुस्
र सिकाउँनुस् सीपले सिञ्चित गर्न
आफ्नै करेसाको चित्र

सिकाउनु पर्छ
स्वाभिमानले उठेकोे शिर
उँचो राख्ने उपाय
जहाँ गतिशील बनिरहुन्
समृद्धिको पाइला
यस तपोभूमिमा
अविराम पुजि रहुन कर्मलाई
परचक्रीको हरिया कल्पनाहरूले
विचलित नबनाओस् मन

पारदर्शिता र इमानदारिताको
दृष्टान्त बनेर देखाउँनुस्
आँगनमै फुलाएका बहुरङ्गी सपना

देखाउँनु पर्छ
विभेदमुक्त मुस्कुराएका
अन्योन्याश्रित अनेक संस्कृतिका बगैँचा
लोकव्यवहारमा खारिएका मौलिक ज्ञान
ति थिए जीवन्त विज्ञान
हटाइदिऔँ कुविचारले थोपरिएका अज्ञान
ति कसैको तुलनामा कमजोर हुँदैनन्

फिजाउँनुस् ज्ञान
जसरी थोपा संगालिएर सागर बन्छ
त्यसैगरी योगदानका इटा
थप्दै गए मात्रै बन्छ देश
उत्सर्ग, त्याग र तपस्यापछिको
फल मात्रै मीठो हुन्छ ।

दिनुस् शिक्षा
सिर्जनशील नागरिक बन्ने
र सम्झाउनुस् आफू हुनुको ध्येय
त्यसपछि तिमी आफ्नै पहिचानले
निर्भिक बाँच्नेछौ युगौसम्म

बाड्नुस् ज्ञान
आफ्नो घर बनाउन
आफै जाग्नुपर्छ
अनि पो चम्किन्छ
पुर्खाको बिरासत र
पसिनाको मूल्य
आफैले बनाएको मजबुत घरमा
निर्धक्क रहन्छ तिम्रो भविष्य ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।