परिकल्पना : गंगा खड्का (लघुकथा)

परिकल्पना : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

म परीक्षा दिनको लागि कलेज जाँदै थिएँ । म चढेको गाडीमा मसँगैको सिटमा एकजना महिला बसेकी थिइन् । उनीसँग लगभग तीन चार वर्षकी नानी पनि थिइन् । नचिनेको मान्छे भएर मैले त्यतापट्टि ध्यान दिइनँ । म झोलाबाट किताब निकालेर पढ्न थालेँ । एकैछिनमा ती सानी नानीले मेरो हातबाट किताब पन्छाइदिइन् । मैले उनको अनुहारमा पुलुक्क हेरेँ । उनी मुसुक्क हाँसिन् । त्यसपछि मलाई उनीसँग जिस्कन मन लाग्यो । म उनीसँग बोल्न थालेँ ।
“तिम्रो नाम के हो ?”
मेरो प्रश्नको उत्तरमा उनले झरना जस्तै मीठो बोलीमा छोटो उत्तर दिँदै भनिन्, “जेनिका”
“आहा ! कति राम्रो नाम ! अनि तिमी कहाँ जान लागेकी नि ?” मेरो सोधाइमा उनले जिस्कँदै भनिन्, “अफिस”
मैले फेरि उनलाई जिस्काउँदै भनेँ, “होइन होला ।”
“नपत्याए ममीलाई सोध्नुहोस् न ।” उनले आमापट्टि देखाउँदै भनिन् । मैले उनकी आमालाई हेरेँ ।
“नानी सबैलाई यसै भनेर गफ लगाउँछे । सधैँ मेरो अफिस जाने भएर होला उसलाई आफ्नै अफिस जस्तो लाग्छ ।”
जेनिकाकी आमाको जवाफ सुनेपछि मैले अचम्म मान्दै सोधेँ, “नानी किन सधैँ हजुरको अफिस जान्छिन् ? उनलाई स्कुल जानुपर्दैन र ?”
“स्कुल त जानुपर्छ तर म उनलाई बेला भएपछि पुराउन जान्छु ।” जेनिकाकी आमाले मलाई सफाइ दिँदै भनिन् ।
“नानीको स्कुल हजुरको अफिस नजिकै छ हो दिदी ?” मैले जिज्ञासु बन्दै सोधेँ ।
“होइन नि, घर नजिकै छ । अफिसबाट गाडीमा बीस मिनेट लाग्छ ।”
उनको निराशा नाचिरहेको अनुहारलाई नियाल्दै मैले सोधेँ, “घरबाट नजिक भए त घरका मान्छेले स्कुल पुराइदेलान् नि त ?”
“घरका मान्छेले मेरी छोरी कहाँ हेरिदिन्छन् र बहिनी ? मैले नानीलाई आठ महिनादेखि बोकेर अफिस लगेको ।” म उनका कुरा सुन्दै गएँ । उनी थप्दै गइन्, “अहिले मेरी छोरी यस्तो जाडामा मैले अफिस लगेको कसैले देख्दैन । भोलिपर्सि मेरा सासूससुरा बुढाबुढी हुँदा मैले हेरिनँ भने समाजले कुरा काट्छ ।” उनले भावुक हुँदै भनिन् ।
“ओहो, यस्तो विकसित ठाउँमा त नारीहरूमाथि शारीरिक तथा मानसिक हिंसा हुन छोडेको छैन भने घरेलु हिंसाको अन्त्यको परिकल्पना कसरी सार्थक बन्ला ?” म बडो अन्योलमा परेँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।