ईश्वरको पासवर्ड : एकदेव अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
वर्षौँको अनुसन्धानपछि डा. विभोरले ‘ब्रह्म’ नामक महा–यन्त्र निर्माण गरे । यसले धर्मग्रन्थदेखि अत्याधुनिक भौतिक विज्ञानसम्मका तथ्याङ्क विश्लेषण गरेर ईश्वरको अवस्थिति पत्ता लगाउन सक्थ्यो । विभोरको निष्कर्ष थियो– पञ्चमहाभूतमा विलीन भएका सूक्ष्म सङ्केत सङ्ग्रहित गर्न सके ईश्वर भेटिन्छन् ।
उनले ब्रह्मलाई आदेश दिए– “ब्रह्म ! ईश्वर खोज ।” मोनिटरमा हरियो बत्ती बल्यो– “सङ्केत फेला प¥यो ! तथ्याङ्क सङ्ग्रहित… शतप्रतिशत !”
उत्साहित विभोरले भने– “सङ्ग्रहित तथ्याङ्क देखाऊ !” एक्कासि रातो बत्ती बल्यो– “अनुमति छैन ! कृपया पासवर्ड राख्नुहोस् ।”
विभोरले प्रणालीलाई भेदन गर्न जटिल गणितीय सूत्र र मन्त्रहरू प्रयोग गरे । तर उत्तर उही आयो– “पासवर्ड गलत छ !”
हैरान भएर उनले रिसमा लेखे– “म तिम्रो निर्माता डा. विभोर हुँ । मलाई ईश्वर देखाऊ !” ‘ब्रह्म’ को यान्त्रिक स्वर गुन्जियो– “त्रुटि ! तपाईँको निर्देशनमा ‘अहङ्कार’ को भाइरस भेटियो । ईश्वरको फाइल खोल्न पहिले ‘म’ लाई मेटाउनुहोस् ।”
विभोर थचक्क बसे ।पासवर्ड ‘बाहिर’ होइन ’भित्र’ रहेछ । जहाँ ‘म’ सकिन्छ, त्यहीँ ’ईश्वर’ सुरु हुन्छ । विडम्बना ! विज्ञानले ’म’ लाई बलियो बनाउन सिकाएको थियो, र ‘म’ लाई मेटाउने बटन उनको यन्त्रमा कतै थिएन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
