मान्छे : एक (त्रिलोचन आचार्य)

मान्छे : एक (त्रिलोचन आचार्य)

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

आगो मानिस यो भए त धरती बस्दैन टुक्रा पनि
बँच्दैनन् वन फाँट खेत लहरा सुक्छन् खरानी बनी
पानी मानिस यो भए जमिनको भासिन्छ छाया पनि
वर्षाको भल बन्छ जीवन तथा यो मोह माया पनि ।१।

मान्छे यो धरती भए त कहिले थेग्थ्यो र आँधी हुरी
छातीमा जसले उठाउँछ सधैँ लाखौँ करोडौँ धुरी
बाटो सक्छ बनाउनै तर उही सक्दैन बाटो हुन
माटो सक्छ सजाउनै तर उही सक्दैन माटो हुन ।२।

मान्छे पूmल बनेर छर्न कहिल्यै सक्दैन बास्ना पनि
मान्छे उच्च हिमालझैँ चहकिलो सक्दैन हाँस्नै पनि
जान्दा मानिस खान लाउन स्वयं टेकी दरो उभ्भियो
मान्छे चेतनशीलभै सब जगत् ढाक्ने बनी फैलियो ।३।

मान्छे आज रकेटबाट दुनियाँ घुम्ने बन्यो फन्फनी
साटेरै मुटु काल टार्न जनको सक्नेछु भन्दै छ नि
खल्तीमा बम बोक्न सक्दछु भनी छर्दैँछ चर्को डर
मान्छे मानवताविना बनिसक्यो आतङ्क लुक्ने घर ।४।

यौटा मानिस खेतमा छ उसका कस्तो कला सुन्दर
यौटा मानिस गाउँदैछ सुरिलो कस्तो गला सुन्दर
यौटा मानिस प्राण दिन्छ जहिल्यै सेवा र सत्कारमा
अर्को मानिस भेटिँदैछ ननिको अन्यायका हारमा ।५।

मान्छे को कुन हो सुयोग्य कसरी जान्ने कला चाहियो
देख्दैमा अनुहार चित्त उसको छान्ने कला चाहियो
बाँड्ने आदत भैदियोस् मृदुलता मान्छे सदाचार होस्
गाँस्ने जीवनका गला हरपला, मान्छे कलाकार होस् ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।