किसान : भावना बराल ( कविता )

किसान : भावना बराल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

चराचर जगत् प्राण धान्न सक्ने
किसान नामले
हलो र जुवा संसारै हाँस्ने
खेतको कामले ।

एक मुठ्ठी खाई उब्जाउछन् मुरी
अमूल्य दिन छन्
किसानको बयान कसरी गरूँ
कर्ममा लीन छन् ।

जोश र जाँगर पसिना सिपले
यो माटो भिजाई
सुनका बाला झुलाउन सक्ने
खेतलाई रिझाई ।

त्यो गैरी खेत, त्यो काईली बारी
किसानका दौतरी
नलाग्ने थकान लुका र मारी
घरमाथि चौतारी ।
हिउँद र वर्षा जहान घरका
कोदाली हातमा
सुस्केरा छोड्छन् आलीमा बसी
जुनेली रातमा ।

किसान प्यारा धर्तीका सेवक
खुसीका आधार
दुख र कष्ट पार लाउँछन् हाँसी
हजारौँ जंघार ।

खेत र आली ती बाँझो बारी
रंग रोगन गर्नु छ ।
साहसी किसान बनेर एकदिन
गर्वले मर्नु छ ।

हातमा हात मिलाई माटो
सिंगारौ कर्मले
यो सारा सृष्टि चलेको छ नि
किसानको धर्मले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।