सग्लो रहौँला कहाँ ? त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
आगोकासँग खेल्दछौँ यदिभने
हुन्छौँ खरानीसित
ताराका सँग खेल्दछौँ यदिभने हुन्छौँ बिहानीसित
खेल्छौँ बन्दुक साथमा यदिभने छौँ लाशकै चाङमा
खेल्दैछौँ भिरमा गई यदिभने सग्लो रहौँला कहाँ ?
माटोका सँग खेल्दछन् कृषकले
संसार यो पाल्दछन्
बाटोका सँग खेलमा हरघडी यात्री कहाँ पुग्दछन्
खेल्दै खेल घृणा र द्वेषसँगमा अग्लो रहौँला कहाँ ?
खेल्दैछौँ गुटमा रमी यदिभने सग्लो रहौलाँ कहाँ ?
खेल्छौँ खेल हिमालकासँग भने
हाँसो जिती ल्याउँछौँ
खेल्नेछौँ यदि मित्रका सँग भने विश्वास उब्जाउँछौँ
भेट्छौँ सागर खेलमा जुटिरहे खोलासँगै बेगमा
खेल्दैछौँ त भने विध्वंशसँगमा सग्लो रहौँला कहाँ ?
खेल्दा जाल र झेलका सँग चल्यो
त्यत्रो महाभारत
खेल्दा इज्जत नै भुलेर सुनको लंका जल्यो हुर्हुर
खेल्नेछौँ यदि लोभकासँग भने जोडिन्छ को बुध्दमा ?
खेल्दैछौँ यदि दम्भका सँग भने सग्लो रहौँला कहाँ ?
आफैँ ध्वस्त बनेर खेल्नु छ भने
त्यो खेल के खेल हो ?
खेल्दै बग्छ भने स्वयं चउर नै त्यो भेल के भेल हो ?
खै आस्था छु विदीर्ण खेलतिरमै, अग्लो रहौँला कहाँ ?
हुन्थ्यो खेल गरे यहाँ सब बुझी सग्लो रहौँला कहाँ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
