मिलन : राज सौरभ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
म र कविता
कहिल्यै एक भएनौँ ।
ऊ ममा आफू खोज्थी
म उसमा !
एउटा अनौठो लुकामारी
आदर्शलाई म लेप ठान्थेँ
ऊ मलाई आदर्श बन भन्थी
ऊ चराको तानमा राग भर्थी
भरियाको नुनिलो पसिनामा
देश खोज भन्थी
पाखामा फुलेको
लाउरे र बुकीलाई
मन्दिर पु¥याऊ भन्थी
सर्वस्व कुम्ल्याएर खसम रुहाउने
साहिलीको यौवनको राप नाप भन्थी
तर म
उसको सौन्दर्य भट्याएर
यथार्थलाई पालिस लाउँथेँ
बढो मस्त हुन्थेँ
कवितालाई झुक्याउन पाएकोमा
कृत्रिमताको ढिस्कोमा अडिएर
कविताको माहात्म्य बखान्थेँ
आफूलाई बौद्धिक चिन्तक
स्वतन्त्रताको सच्चा हिमायती
अनेक परिचय दिन्थेँ
यता कविता !
मेरो धाडस देखेर फिस्स हाँस्थी
अनि भन्थी
“कवि जी !
म ईश्वर स्तुति होइन
महङ्गो होटलमा पाक्ने
भैँसीको चाम्रो छाला होइन
भ्रष्टको रेसमी पर्दा होइन
जो झुटलाई ढाकी रहोस् ।
बलत्कृत चेलीको चीत्कार हूँ
प्रवासमा अपहरणमा परेको युवाको स्वदेशसँगको अनुत्तरित प्रश्न हूँ ।
म ढुङ्गा हूँ
कुन्जो खोजी रहेछु
म माटो हूँ
तिम्रो पौरख खोजी रहेछु
बृद्द्बृद्धाको लौरो हूँ
टिपाइको पर्खाइमा छु
सीमाको जङ्गे पिल्लर हूँ
अर्को जङ्गबहादुर खोजी रहेछु ।
म दार्शनिकको दर्शन बोल्ने ठेली होईन
आफन्तको छाती उडाउने गोली होईन
मानवता रित्याउने ग्याँस च्याम्बर होईन
जिउँदै होम होमादी गर्ने चिम्नी होइन
कृपया !
म जे होइन त्यसमा मलाई नखोज्नुस्
म जे हूँ त्यसमा पस्नुस्
आफूलाई बदल्नुस्
अनि संसार बदल्ने
आँट गर्नोस्
देखाउने दाँत फुकालेर
लुकेको बङ्गरा उद्याउनोस्
तब मात्र हाम्रो मिलन सम्भव छ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
