चार मुक्तक : नारायण खनाल नीलम
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
उघ्रन्छ आकाश आफैं कालो बादल फारेपछि
मुग्ध हुन्छ जून पनि अनुरागले खारेपछि
सरीताको लय जस्तो तिम्रो प्रेमले पग्लेको छु
पग्लन्छ चट्टान सुद्द वात्सल्यले चारेपछि ।
रसाउनुको रहस्य खोज्न मूलको सङ्गत गर्नुपर्छ
किनाराहरू जोड्ने भए पुलको सङ्गत गर्नुपर्छ
पौरखैले हो जीवन उज्यालो पार्ने पनि
मुस्काउन सिक्न चाहे फूलको सङ्गत गर्नुपर्छ
अझै पनि मान्छेहरूको बहाब उस्तै देख्छु
फर्कि फर्कि कुकर्ममा लगाव उस्तै देख्छु
खरानी बनाई आफ्नै घर विजय उत्सव मनाउँछन्
ब्वाँसो हिंस्रक नै हो परेवाको स्वभाव उस्तै देख्छु
छुट्टिदैन भुस र पिठो चुहिने चाल्नीले चालेपछि
रहन्न महत्त्व चुनरीको थाङ्नो बनाइ फालेपछि
तामाको फूर्ति सुनमा मिसिन पाउन्जेल मात्रै त हो
उत्रिन्छ सेखी खोटीको रित पूर्वक गालेपछि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
