चार मुक्तक : सुशील रिजाल
कपन अनलाइन
काठमाण्डौ ,पुस १३ ।
मुक्तक १
नमिलेको माया पनि सदर हुन्छ कहिलेकाहीँ
मिलाएर मिल्यो भन्दा बदर हुन्छ कहिलेकाहीँ
जिन्दगीको परिभाषा भने जस्तो कहाँ होला,
रिसाएको घुर्की समेत कदर हुन्छ कहिलेकाहीँ ।
मुक्तक २
कहिले पल सम्झिन्छु अनि निस्छल मुहार सम्झन्छु
घात अनि प्रतिघात गरेको अनौठो समाचार सम्झन्छु
बिर्सनलाई पनि सम्झिनु पर्ने रहेछ आफ्नाहरूलाई,
कोशिस त गरेकै हो बिर्सनलाई झन् बारबार सम्झिन्छु ।
मुक्तक ३
आधा जीवन अभावका खाल्डाखुल्डी खन्दै पुर्दै सकिएछ
फर्केर आउँछ कि भनी निर्माेहीलाई कुर्दा कुर्दै सकिएछ
पीरका भारी मुक्तकमा लेखी पठाउँला भनेको थियो उसैले,
आफ्नो पालो समयको पछि पछि दगुर्दा दगुर्दै सकिएछ ।
मुक्तक ४
न भनेको ठाउँमा जान पाइन्छ न बसेर सँगै खान पाइन्छ
न कसै सामु मेरै हुन् भनी चिनाउनलाई कतै लान पाइन्छ
खानु न ओकल्नु भयो प्रिया तिम्रो र मेरो कलिलो माया,
न त त्यो वाहुमा बाँधिएर विश्राम गर्ने न्यानो सिरान पाइन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
