उत्साहजनक सहभागितामा किन्डर ओलम्पिक सम्पन्न

उत्साहजनक सहभागितामा किन्डर ओलम्पिक सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस १६।

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३ औं किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोश्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी सहभागी थिए ।
सहभागीहरुको मार्चपास्टपछि पूर्व सांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणमा पनि यि चारै खेलाडीले टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रशारण गरिएको थियो भने पहिलो चरणको कार्यक्रमको संक्षिप्त श्रब्यदृष्य पनि प्रस्तुत गरिएको थियो ।
विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालवालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो ।
एनएसएसएफका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागिता गराइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले आगामी संस्करण अझ भब्य रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
पुस १२ गते भएको पहिलो चरणको कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य रञ्जना प्रधानले कार्यक्रम सफलताका लागि शुभकामना दिइन् ।
सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसीइटीएले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।