चिता ज्वालाको सन्देश : प्रमोद नेपाल (कविता )

चिता ज्वालाको सन्देश : प्रमोद नेपाल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

सूर्यका रश्मिहरू रापिला छैनन् आज
छ उनको उज्यालो पनि धुमिल
स्थिर छ वायु बतास चल्दैन
मानौँ उसको वेग भयो कमजोर,
रुखका पातहरू चलेका छैनन्
छैनन् हाँगाबिँगा पनि झुलेका
मुर्दा शान्ति अनुभव गर्दैछन् श्वास लिनेहरू
बरबरी खसेका आँशुका धाराले
पृथ्वी रगताम्य हुँदैछिन्
विश्वासलाई डढेलो लागेको छ
र आशाहरू
मर्दैछन् भटाभट,

तर लश्करै दनदनी बलिरहेका
अबोधका चिताबाट निस्केका ज्वालाले
सन्देश छर्दैछ
“म फैलिने छु र डढाउनेछु
अन्यायका पुतलाहरू,
असमानताका महलहरू
भ्रष्टाचारका चुलिएका फोहरहरू
अनि
आश्वस्त पार्नेछु
कात्रो बाँधेर लम्केका
नयाँ सोचहरूलाई
नवयुगको आशमा बसेका
किंकर्तव्यविमुढ
ती जन जनलाई
ए मान्छे !
तिमी हेर्दै वस ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।