नजर : ममता मृदुल (लघुकथा)
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
विशाल बजारको पार्किङमा मोटरसाइकल राखेर बाहिर निस्केँ ।
टाढाबाट मन्दिरालाई देखेँ । पेन्ट सर्ट लगाएकी थिई । हो की होइन भन्ने लाग्यो । ठम्याउन उसको पछि पछि गएँ । मन्दिरा बिजुलीको भ¥याङ चढेर माथि गई । म पछिपछि गए ।
बैंक भित्र पसेको देखेँ । पैसा झिक्न आएकी होला । उसलाई पर्खेर बाहिर उभिएँ ।
मन्दिरालाई देखेर अचम्म लाग्यो । सारी लगाउन नजानेर कति पटक लड्दै उठेकी हुन्थी । उसले कुर्था सुरवाल नलगाई छुट्टिएका हामी । त्यसपछि भेट भएको थिएन् ।
उसले एसएलसी पास मात्रै गरेकी थिई । गाउँबाट बिहे भएपछि आएकी मन्दिरालाई मैले सम्बन्धविच्छेद गरेँ । छुट्टिन मन थिएन उसको ।
आफुसँगै अफिसमा काम गर्ने खर्दार चुनुसँग बिहे गरेँ । सोचेर सोची नसक्नुको जीवन छ ।
स्वार्थमा डुबेर उसलाई छोडेको सम्झँदा मन भतभती पोल्छ ।
अभागी रहिछे बिचल्ली भयो त्यसको ।
सम्झेर पनि नसक्नुको पीडा उम्लन्छ, उम्लेर पोखिएको चाहना उठाउन नसकिने रहेछ । नौ वर्ष भयो । हाम्रो भेट नभएको ।
एउटा भाडाको कोठामा जीवन बिताउन सक्दिनँ भनेर चुनु माइत गएकी सात महिना भयो । सोच्दैसोच्दै केही समय बाहिर पर्खे, मन्दिरा बाहिर नआएपछि म बैंक भित्र पसेँ ।
चारैतिर नजर दौडाएँ ।
मन्दिरालाई खोज्दै गरेको नजर टक्क अडियो ।
भित्तामा झुन्डिएको थियो ।
मेनेजर मन्दिरा शर्मा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
