के हुन्छ नेता बनी ? ( त्रिलोचन आचार्य )

के हुन्छ नेता बनी ? ( त्रिलोचन आचार्य )

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

छन् आश्वासनका पहाड थिचिँने भोका र नांगा सबै
गर्ने काम त छैन, छन् महलमा बस्ने गरेका सधैँ
टारौँला कसरी भनेर पसिना पोख्दैन कैल्यै पनि
मैले भन्नु प¥यो र खै अब यहाँ ?के हुन्छ नेता बनी ।

हिँड्दै छन् पथमा समस्त जनता, भेटिन्छ त्यो कारमा
पैसा छैन चढी जहाज पनि त्यै, उड्दैछ संसारमा
यौटा बोल्छ बिहान साँझ त अरु पत्याउँने के अनि
प्यारा मित्र नबन्नु अल्मल बुझी, के हुन्छ नेता बनी ।

माग्दा भोट मुसुक्क हाँस्छ पदमा पुग्दा सबै भुल्दछ
कान्ला खेत गरा भुली शहरका गोष्ठीतिरै डुल्दछ
प्यारो मित्र छ ठेकदार दुनियाँ देख्दैन कोही गुनी
त्यै ठूला घरमा रमाउँछ बुझौँ, के हुन्छ नेता बनी ।

भन्छन् भन्न त यी सधैँ निडर भैे, सामन्त मास्छौँ भनी
कायाकल्प हुनेछ देश, जनता चाँडै उकास्छौँ पनि
राजाझैँ त स्वयं भए, किन बसुन् सञ्चो विसञ्चो सुनी
जन्म्यो वर्ग धनाढ्यको अब बुझौँ, के हुन्छ नेता बनी ।

कैयौँ पल्ट भने अहो भनिरहे बाटो सिँचाई कुलो
जैले जित्छ चुनाव भुल्दछ सबै पिर्के सलामी ठुलो
छन् सन्तान विदेशमा मन अहो दौडन्छ तेता पनि
मैले भन्नु प¥यो र के अब यहाँ ?के हुन्छ नेता बनी ।

झण्डा राख्न रमाउने मन भए जाऊँ चियाऊँ उतै
दण्डा हान्न विपक्षतर्फ सजिलै अड्डा जमाऊँ उतै
गुण्डाको भरथेगमा अघि बढून्, क्यै जान्न बांगो भनी
यो नेपाल विशेष नै छ बुझ हे !, के हुन्छ नेता बनी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।