रोजोस् श्रावणले बाटो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन २४।
पहिचान नयाँ बाँड्दै आए श्रावणका दिन
इशारा पाउँदा मेघ लागेछ गड्गडाउन
हरियाली बढी शान्त पखेरा चुल्बुलाउँछ
सुख्खा मूल समेटेर आशामा चुल्बुलाउँछ ।
पाई श्रावणकै माया वर्षा नाँच्दछ छुन्मुन
बजाई हरिया पात गर्छ श्रावण गुन्गुन
खेतमा धान रोपेर किसानी मन हर्हर
भन आनन्दमा रम्न श्रावणीले हुँदैन र ?
झार्छ आकाशले पानी तापमान बढयो भने
भेट्छ उत्साहले लक्ष्य सचेत भै गयो भने
टम्म पाखा बनेका छन् मकैका बोटले गरी
आए हेर बजारैमा तरकारी थरीथरी ।
हुने छैन कतै पानी छैन श्रावणमा भने
इन्द्रेनीको कला हुन्न आँधीको गीत के हुने
माया छ भेल वर्षाको नभन्नु भत्कियो डिल
रोजोस् श्रावणले बाटो चम्की आउँछ मंसिर ?
लगाई हरियो धोती गृहिणी जन निस्किए
हरियोपनले ल्यायो प्राकृतिक समुच्चय
हरियो वन पाखाले बाँड्छ हार्दिकता सब
मसी जो हरियो रोज्दै म लेख्छु कविता अब ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
