जिज्ञासु र उत्तरकर्ता : नीमबहादुर ओली
कपन अनलाइन
काठमाडौं,असार २१ ।
बसिबियाँलो – जिज्ञासु र उत्तरकर्ताबीच भएको संवाद ।
जिज्ञासु – यहाँको परिचय ?
उत्तर – एक नेपाली नागरिक ।
जिज्ञासु – जन्म विवरण बताइदिनु हुन्छ कि ?
उत्तर – नेपाल भूमि ।
जिज्ञासु – उत्तर अलि विस्तृतमा पाउँन ?
उत्तर – अनन्त अनन्त चलिरहने श्रृष्टिमा थप भन्नु पर्छ र ? प्रतिप्रश्न ।
– एकछिन मौनताको वातावरण ।
जिज्ञासु – किन ?
उत्तर – सृष्टि अनन्त छ, सृष्टिका सुन्दर गहना यानी खेलौना हामी आउनु जानु सामान्य प्रक्रिया हो । कहिले जन्म्यो, कहिले म¥यो, कहाँ जन्म लियो आदि बिषयले खासै अर्थ राख्छ जस्तो लाग्दैन । जन्म लिएपछि ठूलो हुनु, बुढो हुनु र अन्त्यमा मृत्युुवरण गर्नु सृष्टिको सास्वत नियम हो । खासमा आफैले आफैलाई थोरै भएपनि चिन्न सकियो भने त्यसले मानव हुनुको अर्थ राख्छ जस्तो लाग्छ ।
जिज्ञासु – मातापिता ?
उत्तर – भगवानका पनि भगवान् ।
जिज्ञासु – बुबाआमा भन्दैमा भगवान् भन्दा पनि माथि राख्न मिल्छ र ? के भन्न खोज्नु भएको हो ?
उत्तर – बुबाआमा नभैदिएको भए हामीले यस संसार देख्ने सोभाग्य पाउँथ्यौं र ? भगवानलाई दर्शन गर्ने अवसर मिल्थ्यो र ? दिब्य जन्म दिने बुबाआमाको चरण स्पर्श नगरी भगवानको पनि दर्शन गर्न हामीलाई छुट छैन, त्यसैले मातापिता भगवानका पनि भगवानका रूपमा पुजिन्छन् ।
जिज्ञासु – श्रीमती ?
उत्तर – घरकी लक्ष्मी, जसले घरलाई सजायर सुन्दर वगैंचाको निर्माण गर्छिन् ।
जिज्ञासु – छोराछोरी ?
उत्तर – मातापिताको लागि मायाँको पोको, बुढेसकालको सहारा अर्थात उनीहरू बाबुआमा, बाबुआमा छोराछोरी, घरका अमूल्य गहना, सृष्टिको निरन्तरता ।
जिज्ञासु – अलि स्पष्ट पार्न मिल्छ कि ?
उत्तर – कुनचाहिँ यस्ता बुबाआमा होलान् जसले आफ्ना सन्तानको मायाँ नगरून् । आफ्ना सन्तानले कति खाए, कति लाए, कति खर्च भयो कहिले हिसाब किताबनै नगरी जीवनभर छोराछोरीको लागि सर्वश्व सुम्पेका हुन्छन् । एकोहोरो आफ्नो परिश्रम, पसिना हिमनदी जस्तो बगाएको बगाई गर्छन् । छोराछोरीको उज्वल भविष्यको कामना सहित एकदुई थप्पड दिएपनि, गाली गरेपनि निचोड छोराछोरीले सत् मार्ग नै समातुन् भन्ने हो ।
अर्को, सानासाना बालबच्चा बुढाबुढी नभएको घर घरनै होइन । घरका असली गहना यिनै हुन । जुन घरमा बालबच्चा तलमाथि गर्दै उफ्रेको, दौडेको, हाँसेको, खेलेको, रूएको र बुढाबुढीले घरको रखवारी गरेको घरको शोभा हेरौँ त । त्यसैले यी गहनालाई श्रद्धापूर्वक, मायालु वातावरणमा राख्नु हामी सवैेको कर्तव्य हो ।
तेस्रो, सृष्टिको सिर्जनाको शुरूका दिनदेखि एकपछि अर्को गर्दै आजका दिनसम्म आइपुग्दा बाबुआमा र छोराछोरी भन्ने नहुँदो हो त आजको दिन दिव्य रहने थिएन, त्यसैले छोराछोरी भनेका सृष्टिको निरन्तरता हुन् ।
जिज्ञासु – ठूलो मान्छे कसलाई ठान्नु हुन्छ ?
उत्तर – मन, वचन र कर्म जसका विवेकशील छन् ।
जिज्ञासु – क्षमा चाहान्छु, यहाँको उत्तर उदेकलाग्दो लाग्यो ।
प्रतिप्रश्न – किन ?
जिज्ञासु – यत्रो यत्रो भि.भि.आइपिहहरू राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश आदि आदि सम्मानित पद त्यसमाथि विभिन्न बिषयमा विज्ञता हाँसिल गरी डक्टरेट उपाधि प्राप्त गरेका आदरणीय महानुभावहरू हुँदाहुँदै कहाँको राजाराम कहाँको गोले भडारीका कुरा गर्नुहुन्छ ? अनि उदेक लाग्दैन त ?
उत्तर – भि.भि.आइपिको पद, डक्टरेट उपाधि प्राप्त आदरणीय ब्यक्तित्वलाई मैले कहाँ सानो भनेको छु र । अति मर्यादित कुर्सीमा वस्न सौभाग्य पाउने सम्मानित व्यक्तिहरू भौतिक जीवनका अग्रणी व्यक्तित्व हुनुहुन्छ, उहाँहरूमा पनि त माथिका गुणहरू हुन्छन्, यी त मानिसका निजी सम्पत्ति हुन् र मानवका गहना हुन् । फेरि मैले त आध्यात्मिक जीवनको पाटोबाट हेरेको ।
जिज्ञासु – मानव के हो ?
उत्तर – सृष्टिकर्ताको उच्चतम हाँगो, मानवरूप लिएर सबैभन्दा चेतनशील प्राणीको रूपमा जन्म लिने भाग्यमानी प्राणी मानव हो ।
जिज्ञासु – सृष्टिकर्ताको उच्चतम हाँगो, सवैभन्दा चेतनशील प्राणी अझ साँच्चै भन्नुपर्दा एक्काइसौँ शताब्दीको भौतिक विकासले सम्पन्नशालि मानव भन्दै गर्दा आज किन मानव नै सबैभन्दा दुःखी, अशान्त छ ?
उत्तर – मानवभित्र रहेको अहँकार यानी आफुलाई ह्रदयबाट नै सानो देखाउन नचाहने प्रवृत्ति, आफ्नो कमीकमजोरी स्वीकार गर्न नसक्नुले आजको मानव शान्त छैन, आफ्नो खुशी आफै खोसेको छ ।
जिज्ञासु – सबै समस्याको समाधान हुन्छ भन्छन् मानवमा रहेको यो समस्याको समाधान के हुन सक्छ ?
उत्तर – एउटै रथका दुई पाँग्रा भनेजस्तो मानवरूपी जीवनलाई सहि ढङ्गबाट अगाडि बढाउन मानवरूपी दुई गहनालाई सधैँँ आत्मसात गर्नुपर्छ । एक आन्तरिक शान्ति दुई वाह्य समृद्धि । जब मानव शान्त हुन्छ र शान्त मनले गरेका कर्महरूले भौतिक जीवनमा आवश्यक पर्ने बाटाहरू आफै खुल्दै जान्छन् ।
जिज्ञासु – मलाई यस विषयमा अझ जोड्न मन लाग्यो संसारमा सबैभन्दा छिटो दगुर्ने केही छ भने त्यो मन हो भन्छन् । यस्तो मनलाई शान्त नपारी आन्तरिक शान्ति आउला जस्तो लाग्दैन । बाह्य समृद्धि अर्थात भौतिक प्रगतिले त मानवले आज शिखरनै चुमी सक्यो । तर पनि मानव दिनप्रतिदिन झनझन् दुखी, झनझन् अशान्त, एकापसमा झैझगडा, एकअर्कालाई समाप्त पार्ने खेल रच्दैछ । यस्तो अशान्त मनलाई शान्त पार्ने वुटी केही छ कि ?
उत्तर – आजको मानव आफुतिर फर्कन विर्सियो । उठ्न पाएको छैन अरूकै कुरा, अरूकै ईष्र्या, अरूकै दोष, आफैँ जानकार, आफै ठुल्दाई, अस्वस्थ प्रतिष्पर्धा गर्ने प्रवृत्तिले आफुलाई हेर्ने चिन्ने समयनै छैन – आजको मानवसँग । जसका कारण शान्ति हराएको छ । शान्तिको अभावमा आफुपनि दुखी छ अरूलाई पनि चयनले बस्न दिएको छैन – आजको मानवले । मूल्य तिरेर पनि नपाइने निशुल्क रूपमा उपलव्ध हुने चौविस घण्टामा एक घण्टा मात्र आफ्नो लागि खर्च गर्ने हो भने आन्तरिक रूपमा दबिएर रहेको शान्ति नाच्दै गाउँदै आइहाल्छन् नि । जीवनभर थिँचिएर बस्नु पर्दा शान्तिलाई कम गाह्रो भएको छ ?
जिज्ञासु – कति सजिलो रूपमा भन्नुभयो, विश्वमा जकडिएर रहेको यति ठूलो समस्याको ओखती फुत्त खल्तीवाट निकालेर फुमन्त्र गरेजस्तो गरी । यत्रो यत्रो वैज्ञानिक आविष्कारको फलस्वरूप उत्पादन भएका औषधीमुलोले त जरैदेखि निको पार्न नसकेको घाउ – हराएको शान्तिको ?
उत्तर – ठीक भन्नुभयो । माथि पनि कुरा आइसक्यो । यो मूल्य तिरेर पाइने औषधी नै होइन भनेर । यो त मानवभित्र दबिएर रहेको दिव्य प्रकाशलाई बाहिर ल्याउन सक्नु हो । जुन मानवले यो प्रकाशलाई आफ्नो जीवनमा उजागर गर्न सक्यो उसको जीवन हेर्न लायकको बन्दछ ।
जिज्ञासु – शान्ति शान्ति मात्र भन्नुभयो, मानौँ मानवको जीवनमा शान्ति आएपछि मानवका सारा समस्या एकैपटक खरानी भएर जान्छन् भन्न त खोज्नु भएको हैन ? यस्तो पनि कतै सम्भव हुन्छ र ?
उत्तर – सम्भव छ । शान्त मनले गरेको काम कहिले पनि विग्रदैन । शान्त मनले हतारमा ढङ्ग नपुराई कहिले कुनै काम गर्दैन । जे गर्छ आवश्यक, गुणस्तरीय रूपमा मात्र गर्छ । ढङ्ग पुराएर शान्त मनले स्वच्छ प्रतिष्पर्धामा सम्पन्न गरेका हरेक जुनसुकै काम व्यवस्थित, गुणस्तरीय, आवश्यक मात्राका, फलदायी हुन्छन् । अब भन्नुस तिनले मानवलाई कहिले दुख देलान् त ? सधैँँँ अमृतै अमृत वर्षाइ राख्छन् । अनि मानवका समस्या शेष रहलान र ? सबै खरानी हुन्छन् ।
जिज्ञासु – जीवन जीवन जस्तो बनाउन ‘ढङ्ग’ को अपरिहार्यता देखाउनु भयो । यो ढङ्ग भनेको के हो फेरि ? थोरै बताईदिनुसन ।
उत्तर – सुन्दर जीवन यापन गर्न ‘ढङ्ग’ ले काम गर्नु भनेको अमृतलाई पिउन शुरू गर्नु हो । पहिला पहिला पुर्खाहरूले भन्ने गर्नुहुन्थ्यो – कुनै पनि काम गर्दा ढङ्ग पुराएर गर, होस पुराएर गर, ध्यान दिएर गर भनेर । काम विग्रियो भने ढङ्ग नभएको, नभएकि भनेर विशेष गरेर बुहारीहरूले गाली खानु पथ्र्यो । यी घामले पाकेका बुढाहरूले के भनेका होलान् भन्ने लाग्थ्यो त्यो समय । तर ती गाली, गाली नभएर अमृतवाणी पो रहेछन् । ढङ्गले गर्नु भनेको ध्यानले गर्नु, दौडिएको मनले त ध्यान दियर काम गर्न सक्दैन, गरेपनि भनेजस्तो हुन सक्तैन, बिग्रन्छ भनेका रहेछन् पुर्खाहरूले । यी वाणी त ऋषिहरूले बर्षाैं साधना गरेर आर्जन गरेका अमृत पो रहेछन् ।
जिज्ञासु – यहाँको भनाइ अनुसार ढङ्ग पुराउन, शान्त मन वनाउन जे जे भनेपनि ध्याननै रहेछ – जीवनको अमृतवुटी । यो अमृतवुटी भेट्न कुनै ठाउँ विशेषमा जानु पर्छ कि घरमा आफैद्वारा गर्न सकिन्छ ?
उत्तर – शुरू शुरूका दिनमा आध्यात्मिक ज्ञानले पुर्ण दीक्षित गुरूको प्रत्यक्ष सम्पर्कमा रही योग, ध्यान, प्राणायामको साधना गर्नुपर्छ । केही दिनको साधनापछि गुरूको सल्लाहमा आफ्नै घरमा बसीबसी २४ घण्टामा एक घण्टा आफ्नो लागि खर्च गरी नियमित रूपमा साधना ग¥यो भने जीवन हेर्न लायक वन्न थाल्छ ।
हामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने गुरु रोज्दा आफैमा पूर्ण दीक्षित हो होइन भनी ख्याल गर्नु अति महत्वपूर्ण हुन्छ ।
जिज्ञासु – अध्यात्म र भौतिक पाटोको मिलन छ छैन ? छैन भने कुरै सकियो छ भने कुन विन्दुमा पुगेर मिलन हुन्छ ?
उत्तर – आध्यात्मिक पाटो र भौतिक पाटोको मिलन जीवनको पहिलो पाइलाबाटनै शुरू हुन्छ र अन्त्यसम्म पनि छुट्दैन । शुरूमा पृथ्वीमा पाइला टेकेको शिशुले पनि एक टक लगाएर आमाको अनुहारमा हेर्नु, बच्चाहरू ध्यानपूर्वक भाँडाकुटी खेल्नु पनि आधात्मिक पाटोबाट सृजना भएको ध्यान हो भने मानव मृत्युवरण गरिसकेपछि पनि अन्त्यष्टिदेखि हरेक एक कर्म गर्न आवश्यक पर्ने सामाग्री भौतिक पक्षका कुरा त हुन् ।
जिज्ञासु – त्यसो भए जन्मदैदेखि शुरू हुने आध्यात्मिक क्षेत्र र भौतिक क्षेत्र मृत्यु पश्चात् सम्म पनि नङ्ग र मासु जस्तै बनेर रहेका हुन्छन् भनी बुझ्दा फरक नपर्ने रहेछ होइन ?
उत्तर – हो, आध्यात्मिक ज्ञान बिना भौतिक ज्ञान अपुरो रहन्छ । भौतिक क्षेत्रमा आध्यात्मिक पाइला मिसियो भने सुनमा सुगन्ध हुन्छ । यसलाई एउटा रथका दुई पाँग्रा भनेर बुझ्दा राम्रो हुन्छ ।
अझ, यस प्रसङ्गलाई स्पष्ट पार्नु पर्दा उदाहरणको रूपमा आध्यात्मिक क्षेत्रको शिखर चुमेका भगवान गौतमबुद्ध, खप्तड बाबा, पाणिनी ऋषि, शिवपुरी बाबा, गोरखनाथ बाबा थुप्रै आध्यात्मिक महान पुरूषहरू पनि त भौतिक क्षेत्रविना रहन सकेनन् । उनीहरू बस्ने कुटी भनौँ, घर भनौ वा दरवार सबै भौतिक क्षेत्रको उपलब्धि त हो । फलाहार वसे पनि, अन्नपात खाएपनि किसानले उब्जाएको त हो । उनीहरूले लगाउने लत्ताकपडा कारखानाबाट उत्पादन भै सूचीकारले सिलाएका त हुन् । त्यसैले भौतिक जीवन र आध्यात्मिक जीवनलाई छुटाएर हेर्न मिल्दैन, हेरियो भने दुवै क्षेत्र अपुरो रहन्छन् ।
जिज्ञासु – शान्त हौ, तनाव नलेउ, सकारात्मक सोंच बनाउ आदि आदि शब्दहरू अरूलाई अर्ती उपदेश सबैले दिन्छन् । अर्ती उपदेश त दिन्छन् तर यसरी प्राप्त गर्न सकिन्छ है भनेर बिधि सिकाउँदैनन् । अझ, नियालेर हेर्ने हो भने जसले उपदेश दिएको छ उसको जीवन पनि अशान्त छ, तनावमा देखिन्छ नि ?
उत्तर – साह्रै चित्त वुझ्दो, व्यवहारिक प्रश्न उठाउनु भयो । यहाँप्रति नतमस्तक छु । माथि उल्लेख गरिएका शब्दहरू जीवनमा महशुस हुनेगरी लागू गर्न नियमित रूपमा साधनाको आवश्यकता रहन्छ । प्रवचन दिएको सुन्दैमा यी अमृतहरू पाइने होइन । आफैले आफ्नो लागि योग प्राणायाम ध्यानको समष्टिगत शब्द ‘साधना’ नियमित रूपमा गर्नुपर्छ । शुरूमा दीक्षित गुरूबाट प्रत्यक्ष भौतिक रूपमा बिधि सिकेपछि आफै आफ्नै घरमा बसी बसी नियमित रूपमा साधना गर्दै जाँदा यस्तो नशा बस्छ बरू खाना नखाए शरिरले मान्छ होला, साधना नगर्ने दिन शरिरले त्यति असहज महशुस गर्छ । यो नशा जसलाई लााग्यो उसले जीवनको बाजी मा¥यो ।
जिज्ञासु – आध्यात्मिक बाटोमा लागेपछि धेरैको बुझाई घरवार छोड्नु पर्छ, पहेंला वस्त्र धारण गर्नुपर्छ, कुटीको बास हुनुपर्छ, काम गर्न हुँदैन आदि आदि छ र हामीले पनि कसैकसैको जीवनमा लागु भएको देख्दै पनि आएका छौं । के माथि उल्लेख भएका कुराहरू आध्यात्मिक जीवनले अपरिहार्य ठान्छ ?
उत्तर – पटक्कै होइन । आध्यात्मिक क्षेत्रले त आफैले आफैलाई चिन्न सिकाउँछ । साच्चै भन्नु पर्दा आजका मानव हामी खाली अरूतिर मात्र फर्कन सिक्यौं, विश्वमा करिब करिब आठ अरब जनसंख्या छ, अब कति जनातर्फ फर्कने ? ल भन्नुस त ? आफुलाइ नचिनी मर्न पाइन्छ ? आफुतिर कहिले फर्कने, आफुलाई कहिले चिन्ने ? अरूतर्फ मात्र फर्केको परिणाम हो – आजको संसार । त्यसैले आफुमा रहेको अपार सम्पत्तिको पहिचान गरी सुन्दर जीवन बिताउन सिकाउने विधा – आध्यात्मिक विधा हो । हिड्ने त आफै हो । यसरी भित्रवाट शान्तिले भरिने र बाहिरवाट समृद्धिले भरिने बाटो हिड्न सिकाउने बाटो आध्यात्मिक बाटो हो । अनि कहाँबाट आयो घरबार छोड्ने, काम गर्न नहुने, कुटीको बास गर्नु पर्ने कुरा ? साँच्चै भन्नु पर्दा ईश्वर यति अविवेकी होलान् जसले पेट, हातखुट्टा, मुख सारा दिएर जन्म दिने काम गरे । सृष्टिको शुरूका दिनदेखि आजसम्म निरन्तरता दिई सुन्दर बगैंचाको रचना गरे । अनि उनैले भन्लान् त पहेँलो बस्त्र धारण गर, पारिवारिक जीवनमा नफँस, कुटीको बास बनाउ आदि आदि । यसो गरिदै गइयो भने कसले अन्नपात उत्पादन गर्छ, कसले लत्ताकपडा बनाउँछ, कसले गाडीघोंडा बनाउँछ, कसले पृथ्वीका गहनाको जन्म दिई सृष्टिको निरन्तरता दिन्छ ? ल भन्नुस अब कुरा मिल्छ ? आध्यात्मिक बाटोले त मानवभित्र रहेको अथाह सम्पत्तिलाई उजागर गरी आफ्नो जीवन सुख, शान्ति, समृद्धिले भर्न सिकाउँछ । र, आफ्नो कर्मले अरूको कर्ममा पनि घुनपुत्लो लाग्न दिदैन । सधैँँ सहयोगीको रूपमा रहन्छ, सधैँँ सत्यको पक्षधर रहन्छ । अनि सबैको जीवन वाह वाह भएन त ।
जिज्ञासु – अलि उमेर ढल्केपछि, शारीरिक रूपमा काम गर्न अशक्त भएपछि मात्र आध्यात्मिक क्षेत्रमा प्रवेश गर्नु पर्छ भन्ने आम धारणा पाइन्छ नि, कति बर्ष पुगेपछि यस क्षेत्रमा लाग्नु राम्रो हुन्छ ?
उत्तर – पहिलो, आध्यात्मिक क्षेत्र मानवको गहना हो । जीवनको सुन्दर गहना पहिरिन बुढो र भर्खरको भन्ने हुँदैन । जसले पहिरियो उसले जीवन चिन्यो । त्यति फरक हो उमेर बढी भएकोले कम समय अमृत पिउला, युवाले लामो समय । भौतिक प्रगतिले मात्र मानवलाइ सुख दिन नसक्ने प्रमाणित भैसक्यो । अब, तपाईं आफै भन्नुस आफ्नो जीवनमा निखार ल्याई जिन्दगी हेर्न लायक बनाउन बुढोलाई वढि आवश्यक छ कि भर्खरकोलाई ।अथाह चौतर्फि सम्भावना त युवाहरूमा हुन्छ । त्यसैले उमेर ढल्केकोलाई भन्दा बाह्र चौध बर्षदेखि नै आध्यात्मिक क्षेत्रमा प्रवेश गरी आफ्नो जीवनलाई शान्त, सुन्दर बनाउन युवाहरू ध्यानी हुनु जरुरी छ । ध्यानको यहि महत्वलाई संसारभर फिँजाउन संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई ध्यान दिवस घोषणा गरिसकेको छ । युवा पिंडीले समयमै ध्यान गर्न शुरूवात गर्ने हो भने युवाको लागि र देशको लागि अमृत फल्नु बराबर हो ।
दोस्रो, तेल लगाई घाममा सुताएको पाँच सात महिनाको सानो बच्चालाई नियालेर हेरौं त गोडाका औंलादेखि शिरसम्मको भाग कति आनन्दित मुद्रामा, कति ध्यानी बनेर साक्षात भगवान् जस्तो मन्द मुस्कानमा फुत्रुङ्ग फुत्रुङ्ग गरीआफ्नै तालमा खेलेको हुन्छ । यसबाट प्रमाणित हुन्छ ध्यान जन्मसंगै आएको अपार सम्पत्ति हो, पछि भौतिक रङ्ग मन्चमा खेल्ने क्रममा हामीले ध्यानी हुन विर्संदै गइयो र ध्यान दबिएर वस्नु प¥यौ, जसका कारण आजका हामी मानव निदाउनको लागि पनि सिलिपिङ ट्याप्लेटको साहारा लिन बाध्य छौँ, अनेक शारीरिक समस्यादेखि मानसिक समस्याहरू झेल्नुपरेको छ । अब तपाईं आफै भन्नुस ध्यान सानोलाई वढि आवश्यक छ कि उमेर ढल्केकोलाई ?
जिज्ञासु – अन्त्यमा, रमाइलो वातावरणमा सम्वाद कार्यक्रम सम्पन्न भयो, हेरेर पढेर बस्ने दर्शकलाई के भन्न चाहानुहुन्छ ?
उत्तर – सर्वप्रथम त यो अवसर दिई मनमा लागेका कुराहरूलाई बाहिर ल्याउने मौका दिनु भएकोमा यहाँलाई विशेष धन्यवाद । सुनेर पढेर बस्नु भएका जति पनि दर्शक हुनुहुन्छ सबैले र आफन्त समेतलाई समयमै ध्यानी बन्न प्रेरित गर्नुस, बन्नुस । आफ्नो जीवन कस्तो बनाउने तपाईंको हातमा छ ।यसका फाइदा बाहेक वेफाइदा छैनन् । निशुल्क औषधिलाई जीवनको नशा बनाउनुस्, एक बारको जीवनलाई हेर्न लायक बनाउनुस् भन्न चाहान्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक