के हो जीवन ? त्रिलोचन आचार्य (कविता )

के हो जीवन ?  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं,असार २१ ।

के हो जीवन ?
…………….. प्रश्न यो जटिलझैँ लाग्दैछ लाग्दैछ है
जिज्ञासा मनभित्र आँधिहुरिभै जाग्दैछ जाग्दैछ है
सारा जीवन खानु लाउनुतिरै पौडिन्छ होला किन ?
साँच्चै मानिस दास बन्न धनको दौडिन्छ होला किन ?

माया पे्रम अचम्मको छ मन यो टाँसिन्छ आफ्नैतिर
बन्दै मख्ख पुगी रहेछ दुनियाँ छोरा र छोरीनिर
के के गर्छु भनी अपार धननै जोड्दैछ जैले पनि
जानै पर्दछ खालि हात म भनी सोच्दैन कैले पनि

सानो बालक बन्छ ठम्ठम युवा बुढो उही बन्दछ
बुझ्ने होइन कालचक्र मनले सानै छु है भन्दछ
सारा अग्रज खै गए सब कता जान्दैन कोही पनि
पक्का मर्दछु है भनेर जगमा ठान्दैन कोही पनि

गर्नै पर्छ अनेक काम जगमा राम्रो नराम्रो कुन
के को कारणले अमूल्य भनियो टिप्दै पँहेलो सुन
सीमा आखिर देश देश बिचमा बस्छौँ उठाई किन ?
मान्छे नै यसरी हुने फरकझैँ होला नि के कारण ?

हेरे जीवन घामका नजरले देखिन्छ सारा सम
हेरे जीवन घाटका नजरले संसार लाग्ने भ्रम
हेरे जीवन पूmलका नजरले आफ्नो र अर्को कुन ?
हेरे जीवन प्रेमका नजरले संसार हो रंगिन

आविष्कार हुँदै हुँदैन नभने खाँचो छ यस्तो कुरा
आआफ्नैपन सत्य हुन् नि नभनौँ साँचो छ यस्तो कुरा
साँचो भोक भएर मात्र भनियो हो सत्य उत्पादन
स्रष्टाका मनबाट हेर त सखे के माघ के साउन ?

साँचो जीवन हो चुली भनुँ भने खोला झरेका किन ?
हाँसो जीवन हो भनौँ यदि भने छोडौँ खुसीमा रुन ?
साँचो जीवन हो भने सुख बुझौँ जन्मन्छ नानी कहाँ ?
होला जीवन रम्य भव्य कसरी यो बैगुनी विश्वमा ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।