अधिकार र कर्तव्य : डा. टीकाराम पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार १४।
ऊ धरतीमा पदार्पण गर्यो ।
‘मैले खान पाउनुपर्छ, मैले पढ्न पाउनुपर्छ, रमाइलो गर्न पाउनुपर्छ, घुम्न पाउनुपर्छ । राजनीति गर्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, रोजगारी पाउनुपर्छ ।’ उसले यस्ता अनगिन्ती अधिकारहरूको दाबी ग¥यो ?’
जति उसका मागहरू पूरा हुँदै गए, उति उसका अरु मागदाबीहरू थपिए ।
ऊ अधिकारको दुनियाँमा रमाउन थाल्यो
‘अनि तिम्रो कर्तव्य नि ?’ एक दिन एउटा कर्तव्यवादीले उसलाई प्रश्न ग¥यो ।
ऊ केही बोलेन ।
तर कर्तव्यवादी पनि चुप लागेन । थप प्रश्न ग¥यो ।
‘तिम्रो धरतीप्रतिको कर्तव्य ?’
‘तिम्रो समाजप्रतिको कर्तव्य ?’
‘तिम्रो परिवारप्रतिको कर्तव्य ?’
‘अनि मानव चोला लिएपछि मानव हुनुको कर्तव्य ?’
अझै ऊ चुपचाप थियो ।
कर्तव्यवादीहरूले भने अझै ऊमाथि लगातार प्रश्नहरू वर्षाइरहेका थिए ।
अधिकार र कर्तव्य बिच द्वन्द्व चल्यो ।
प्रश्नको घेराबन्दीमा परेको उसले चुपचाप आफ्नो शब्दकोष पल्टायो ।
शब्दकोषमा ‘अधिकार’ र ‘कर्तव्य’ दुवै देख्यो ।
उसले शब्दकोषमा रहेको ‘कर्तव्य’लाई मेटाइदियो ।
प्रश्नको उत्तर सकियो ।
अधिकार प्राप्तिको लडाइँमा ऊ विजयी भयो ।
ऊ ठूलो मानवअधिकारवादी कहलियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक