आँखाको मागपत्र : छायादत्त न्यौपाने ( कविता )
कपन अनलाइन
काठमाण्डौ,असार १४।
कत्रो बडेमाको रहर मेरो !
यो कुनै चानचुन रहर होइन
सिङ्गै देश बनाउने रहर
जान्ने भएदेखि यै रहरका पछि पछि
दौडेको दौड्यै छु नबिसाई !
जति पढेँ जे जे पढेँ देशकै लागि भनेर पढेँ
विदेश गएर पढेँ विदेसिन पढेँ
पढ्दा पढ्दा होस उडेका बेला
मार–काट के के भो जेल पुगेँ त्यै पढेँ
किताबहरू त कति पढेँ कति !
म त पढ्नकै लागि जन्म्या मान्छेसरि पढिरहेँ
पढ्दै गएँ पढ्दै गएँ पढ्दापढ्दै कहाँ पुगिनँ ?
निरन्तरको गतिशील पढाइले
मलाई कति सुन्दर उचाइमा पुर्यायो
खुसीले भञ्ज्याङ छोयो देउराली देख्यो
आहा कस्तो मजा ! कति शक्तिशाली पदमा पुगेँ !
लाउडा, धमिजा, एनसेल, ओम्नी, यति, सुन, जलहरी
सरणार्थी, भेटघाट यात्रा( भिजिटभिसा) जाबा यस्तै यस्ता
कान्डै कान्डै उत्पादन सामर्थ्य बढाउने युक्ति बुद्धि
प्राप्तिको मेसो मिलाउन कति पढेँ हुँला !
कम्ता मुस्किल थिएन यो पढाइ
तर म मिहिनेती इमानदार भएर पढ्ने बिदेसिएर पढ्ने
विदेशीका लागि पढ्ने, सार्वजनिक होइन
स्पेसल शिक्षाका गोप्य किताब पढ्ने
घुस कमिसनका गोप्य विधि पढ्ने मान्छे न परेँ
कानुनका ठेली पढेँ मलाई चैन झोपडीलाई ऐन पढेँ
पढ्दापढ्दै यति पढेँ यति पढेँ कि अब त
मलाई कुनै नीति नियम अनुशासन विधि–विधान
क्यैले नछुने भो ! नैतिकता चाहिँदै नचाहिने भो
देशका अङ्ग अङ्ग सबैतिर आफै अनुकुल
संवैधानिक संरचना तयार भयो ! हा हा !! ताली…
मलाई पढाइले दिएको युवालाई खाडी पु¥याउने
र वृद्धलाई थाङनामा सुताउने गन्तव्य भेटियो
अब भने मलाई पढ्नु छैन
टन्नै भरियो मेरो रहरको बौचो
माटो जीवन सुशासन गतिशील पाइला
आत्मनिर्भर हुन ज्ञान सिपले सम्पन्नता दिने
शिक्षा किन चाहियो म शक्तिसम्पन्नलाई ?
थन्क्याइदिएँ बोरामा किताबहरू
अब म पढ्दा पढ्दा थाकेका
आँखाको मागपत्र मस्त पढ्छु
बिचमा उठाएर निद भङ्ग नगराउनू कसैले …!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
