सामान्य स्थितिमा अझै फर्कन सकेन चौतारा बजार

सामान्य स्थितिमा अझै फर्कन सकेन चौतारा बजार

चौतारा, १० असोज । सिन्धुपाल्चोकको सदरमुकाम चौतारालगायत मुख्य बजारका रुपमा रहेका बाह्रबिसे, मेलम्ची लगायतका बजार सामान्य स्थितिमा अझै फर्कन सकेका छैनन् ।

Sindhupalchok_Chautara
भूकम्पपछिको परकम्पले जमिन थिलथिलो भई लाखौँको लगानीमा निर्माण गरी बनाइएका अग्ला घर भत्काउन घरधनीले नै लाखौँ खर्चनुपर्ने परिस्थिति रहेकाले कतिपयले क्षतिग्रस्त घरको भग्नावशेष अझै पन्छाउन सकेका छैनन् ।

अग्ला पक्की भवनलगायत सम्पूर्ण भौतिक संरचना ध्वस्त भई बजार कुरुप बन्न पुगेपछि भूकम्प गएको छ महिनापछि क्रमशः टहराको रुपमा विकास हुने क्रममा अघि बढ्न थालेको छ ।

सुरुमा अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) नामक संस्थाले क्षति भएका घर भत्काउने र पन्छाउने काम गरे पनि थोरै समय काम गरेपछि हात झिकेका कारण हाल घरधनीले उल्टै लाखौँ खर्चेर भत्काउने र पन्छाउने काम गर्दै आइरहेका छन् ।

बजारका कतिपय क्षतिग्रस्त अग्ला भवन अझै पनि त्यत्तिकै रहेकाले बाटो हिँड्नसमेत जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । चौतारा नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण भग्नावशेष पन्छाउने काम अलपत्र अवस्थामा छ ।

चौताराको पुरानो बजारमा अधिकांश ढुङ्गामाटोले बनेका कच्ची र केही पक्की घरसमेत ध्वस्त भएकाले भग्नावशेष नपन्छाउँदा प्रायः सुनसान नै रहेको छ । नयाँ बजार पनि कच्ची पक्की दुवै किसिमका घर ध्वस्त भएपछि कतिपय घर जोखिमको अवस्थामा रहेका र कतिपयले टहराको रुपमा धमाधम निर्माण गर्न थालेका छन् । यसरी निर्माण गरिएका टहरामा सामान्य एक कोठाको भाडा भने पहिलेको तुलनामा १० देखि २० गुणा महँगो भएको छ । पहिले रु दुई हजार भाडा तिरेर बत्ती, पानी र शौचालयको सुविधा लिई शैलुन चलाउने विक्रु ठाकुरले हाल टहराको सानो कोठाको बिनासुविधा मासिक रु पाँच हजार भाडा तिर्नुपरेको गुनासो सुनाउनुहुन्छ ।

त्यस्तै अर्का रेडिमेट पसल गर्ने अमर गिरीले सानो कोठाको मासिक रु ११ हजार भाडा तिर्नुपरेको बताउनुहुन्छ । अर्का थोक विक्रेता कमल श्रेष्ठले पनि पहिले पक्की घरमा सबै सुविधासहित मासिक रु दुई हजार ५०० तिर्दै आएकामा हाल टहराको सानो कोठाको मासिक भाडा रु सात हजार तिर्नुपरेको बताउनुहुन्छ ।

चौतारा बजारमा कतिपय घरधनीले टहरोसमेत बनाउन सकिरहेका छैनन् भने केहीले बनाएको टहराको एउटा सानो कोठाको मासिक भाडा रु २० हजारसम्म तोक्दै आएका छन् ।

भूकम्प गएको मौका छोपेर चौतारा नगरपालिकाले भने चौतारा बहुमुखी क्याम्पसदेखि टुँडिखेलसम्मको साँघुरो सडकलाई फराकिलो तुल्याउन सडकको दायाँबायाँ साढे चार मिटर मापदण्ड तोकेको छ । कतिपयले पुनःनिर्माण गर्दा नगरपालिकाले तोकेको मापदण्डअनुसार नै गरेका छन् भने कतिपयको भने मापदण्डअनुसार गर्ने हो भने बास नै टुङ्गिने अवस्थासमेत रहेको छ ।

करिब दुई किमी क्षेत्रमा पर्ने बजारका सडक ज्यादै साँघुरो भएकाले सवारी साधन आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको यथार्थता रहेको छ । सडकको मापदण्ड नमान्ने घरधनीलाई कारबाही गरेरै छाड्ने नगरपालिकाका कार्यकारी अधिकारी श्रीकृष्ण पौडेल बताउनुहुन्छ ।

भत्केका घरधनीहरु कतिपयले आवश्यक जमिन छाडेर निर्माण गरेका छन् भने नभत्केका घरका लागि पनि सर्वपक्षीय र सर्वदलीय बैठकले निर्णय गरी भत्काउने अडान नगरपालिकाले लिएको छ । “अब बन्ने घरको अनिवार्य नक्सा पास गर्नुपर्छ” – कार्यकारी अधिकृत पौडेलले भन्नुभयो – “नभत्काउने घरधनीलाई बत्ती, पानीलगायतको सुविधाबाट वञ्चित गराइनेछ ।”

विनाशकारी भूकम्पपछि चौतारा बजारको क्षतिग्रस्त घरलाई पन्छाएर टहरो मात्र बनाउने हो भने पनि अझै वर्षौं लाग्ने स्थानीयवासी बताउँछन् । त्यस्तै सरकारी भवन पनि क्षतिग्रस्त भएकाले पुनःनिर्माणमा निकै समय लाग्ने अनुमान गरिएको छ । हाल चौतारा अस्पताललगायत कतिपय सरकारी कार्यालयहरु टेन्ट र टहरोबाट सञ्चालन हुँदै आइरहेका छन् ।

बजार क्षेत्रका कतिपय भग्नावशेष अझैसम्म पन्छाउन नसकेपछि साँझबिहान हिँड्न पनि असहज महसुस भएको छ । भूकम्पले बजार क्षेत्रमा मात्र १५ जनाले ज्यान गुमाएका थिए ।

राम केसी/ रासस

तपाइँको प्रतिक्रिया ।