भारदहमा सयौँ सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड

भारदहमा सयौँ सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड

सप्तरी, १० असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान प्रहरीले सुरक्षा दिई लैजाँदै गरेका ७० भन्दा बढी सवारी साधनमा तोडफोड र ढुङ्गामुढा गरेका छन् ।

11

प्रदर्शनकारीले प्रहरीले दैनिकजसो सुरक्षा दिई गरी सवारी पास गरिरहेको अवस्थामा आज मौका छोपेर ढुङ्गामुढा गरी सार्वजनिक सवारी साधनमा तोडफोड गरी क्षति पु¥याएका छन् । तोडफोड र ढुङ्गामुढाबाट बसको सिसा फुटेको छ भने अधिकांश गाडीमा क्षति पुगेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित कङ्कालिनी मन्दिर नजिक पुलमा एउटा मालबाहक ट्रक अचानक बिग्रेपछि एक्कासि आएका केही व्यक्तिहरुले ढुङ्गामुढा गर्दै सार्वजनिक सवारी साधनमा तोडफोड गरेको बताउनुभयो ।

त्यस्तै प्रहरीले सुरक्षा दिई लग्दै गरेको सवारी साधनमाथि प्रदर्शकारीले ढुङ्गामुढा गर्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक झापाको काँकडभिट्टा– ९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौकचन र सप्तकोसी ब्यारेजबाट सप्तरीको बलुवा कमोर लिएर बोलबम जाँदै गरेको सप्तरी गहरिया प्रभाह– १ का गौतमकुमार यादव रहेका छन् ।

घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको र उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अहिले भारदहको अवस्था तनाव ग्रस्त रहेकाले सो क्षेत्रमा थप प्रहरी परिचालन गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीको राजविराजमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयमा आज दिउँसो तोडफोड गरेको छ ।
५० ÷६० जनाको समुहमा आएको प्रदर्शनकारीहरुले नारावाजी गर्दे कार्यालय भित्र पसेर तोडफोड गरेको कार्यालयले जनाएको छ ।
तोडफोडबाट कार्यालयको सिसाको झयाल फुटेको छ भने टेबुल कुर्सी र फर्निचर तोडफोड भएको प्रहरीले जनाएको छ । साथै प्रदर्शनकारीहरुले कार्यालयमा रहेको केही महत्वपुर्ण कागजहरु नष्ट गर्दै नारावाजी गरेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।