मैले बेचिदिएँ : गोपी रुपाखेती (कविता )

मैले बेचिदिएँ :  गोपी रुपाखेती (कविता )

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

श्रमका फूलहरू बेचेँ
सृजनाका माला बेचेँ
धपेडीका धूपहरू बेचेँ
पसिनाका प्याला बेचेँ
कुनै आधा मोलमा बेचेँ
कुनै उधारोमा बेचेँ
कुनै सित्तैमा दिएँ
म बेच्न बसेको मान्छे
जसरी पनि बेचिदिएँ ।

किन्नेहरू गरिब थिएनन्
नगद नखर्चिने धनी थिए
जे होस् मैले सबै बेचिदिएँ
मेरो पसल रित्तियो
तर खाजा खर्च उठेनछ
उठेर हिँड्न बाटो खर्च जुटेनछ
आधा पेट खाइदिएँ
थोरै खाएर धेरै अघाईदिएँ
सामान सिध्याईदिएँ
पसल रित्याईदिएँ ।

सामान बिना पसल बन्द भो
मेरो नयनको ज्योति मन्द भो
उठेर हिँड्न खोजेँ
तर झ्याउँकिरी कराउँन थाले
उज्याला हराउँन थाले
जुरुक्क उठ्न तन हलुंगो थिएन
जाने ठाउँको झन टुंगो थिएन
चराहरू गुँडतिर फर्किन थाले
मेरो छातीका भित्ताहरू चर्किन थाले
आफ्नै छायाँ टाढिँदै गयो
पल पल अँध्यारो गाढिँदै गयो
बादलको छाना रोजेर बसेँ
हावाको दाना खोजेर बसेँ
जोर्र्नीहरू सबै हल्लिए पनि
पटुकाले आफ्नै पेट चाहिँ कसें
फेरि के बेचौँ ? समान थिएन
मसँग जे थियो
त्यो सबै बेचिसकेँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।