आमाको शोककथा : विजया बस्नेत (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत १६ ।
आमा छन् घरमा बसेर सँगमा स्याहार्छु छोरी भनी
पीडा हुन्छ सधैँ परेँ सकसमा तड्पेर रुन्छिन् उनी
कालो बादल रुन्छ आज नभमा बर्सेर बर्खे झरी
आमा धीर धरा तिमी सकलकी सौदामिनी हौ परी ।।१।।
प्राणै घातक रोग दुख्छ ननिको हाँसेर लड्थेँ तर
आमाको ममता अपार भवमा रोएर बस्छिन् घर
आफै जोखिममा तथापि कसरी राख्यौ नि आनन्दमा
तिम्रो शोककथा यही भुवनको भन्दै छु मैले यहाँ ।।२।।
पच्चीसै वयमा बनेर विधवा फालिन् जवानी पनि
बाँचिन् कष्ट गरी सधैँ नरकमा छोरा र छोरी भनी
सोच्दा हुन् नरले परी रहरले नारी मरेका दिन
सेतो वस्त्र, कपाल मुण्डन गरी बस्छ्यौ नि आमा किन ?।।३।।
अर्काको घरमा परेर श्रममा सन्तान पाले पनि
भन्ने गर्छ यहाँ समाज सहजै लोग्ने पिराहा भनी
भाले पास परी गयो नि पहिल्यै अल्पायु नै कालमा
पोथीले गुँढमा कुरेर बसिथी बच्चा परे जालमा ।।४।।
फुल्दो यौवनका दुई त अघि नै लग्यो कठै ! कालले
बेहोसी पलमै बिते नि तिनको संसार यै चालले
घुम्टो बादलको निलो गगनमा खोलेर पूर्वी उषा
हाँस्दैँ ती सविता, शशी पनि कतै छोडेर जाँदा निशा ।।५।।
नाचे ती वनमा मुनाल, मुनिया हाँस्यो हिमालै पनि
हाँसिन् ती अबला खुसी नजरले छोरी छ मेरी भनी
बाँच्दै थिन् यसरी अनेक पलमा हेरी उसैको मुख
रोप्यो तीर अझै नि हाय मुटुमा लुट्यो नि तिम्रो सुख ।।६।।
त्यो रानी वनमा सदा विरहमा रोएर बस्छे चरी
संसारी ममता अनित्य छ भनी सम्झाइदेऊ हरि
कस्तो निष्ठुर नै रहेछ निय यो काखै उजाडी दियो
सम्झाऊँ कसरी म आज जननी प्रारब्ध यस्तै थियो ।।७।।
ब्रह्माको जुन शक्तिले भुवन यो मान्छे बनायो अनि
सम्झाऊ मनुले उही छ भवमा लैजान खोज्ने पनि
मेरो प्राणपखेरु उड्नु अघि नै लैजान्छु आमा घर
बाँचेकी छ भनी खुसी भरिदिनू मर्छे नभन्नू तर ।।८।।
स्वेच्छा मृत्यु मिलोस् र कानुन बनोस् हाँसूँ म जाने दिन
नेपाली जनकी म सन्तति भए रोएर मर्ने किन
बाँचोस् देश अनन्त काल जगमा तारा र जूनै सरी
हाम्रो आँगनमा अनेक थरका फुल्दै रहुन् फूल भरि ।।९।।
मेरो चन्द्र र सूर्य अङ्कित छटा झण्डा गरोस् फर्फर
अर्को जन्म कतै त मिल्दछ भने नेपाल नै होस् घर
तिम्रो काख मिलोस् यही सकलमा फर्कन्छु फर्कन्छु म
हाम्रो भेट अवश्य हुन्छ जननी पर्खन्छु पर्खन्छु म ।।१०।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक