सारगर्भित मन्तव्य :डा. टीकाराम पोखरेल ( लघुकथा)

सारगर्भित मन्तव्य :डा. टीकाराम पोखरेल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।

ऊ अर्थात् आजको प्रमुख अतिथि मञ्चमा हालिएको सोफामा गजधम्म बसेको थियो । बस्दा उसको भूँडी ऊभन्दा निकै अगाडि पुगेको थियो । उद्घोषकले उसलाई सारगर्भित मन्तव्य दिन ड्यासमा निम्त्याए । सोफाबाट उठेर आफ्नो भुँडीसहित ऊ ड्यासमा पुग्यो ।
उसले आज मन्तव्य मात्र दिएर पुग्दैनथ्यो, सागर्भित मन्तव्य दिनुपर्ने थियो । नत्र फेरि आयोजकको अपमान हुन्थ्यो ।
उसले मन्तव्य सुरु ग¥यो, तर उसको मन्तव्य सुरु भएको पाँच मिनेट पुग्दानपुग्दै दर्शक र स्रोताहरू ‘हाइ’ काढ्न थालिसकेका थिए । एकादुई जना त निदाउन थालेको समेत देखियो ।
दर्शक नै निदाउन थालेपछि उसको मन्तव्य सारगर्भित नभएको उसलाई अनुभूति भयो । उसका अनुहारमा चिन्ताका रेखाहरू दौडिन थाले । मन्तव्यलाई कसरी सारगर्भित बनाउने ? ऊ सूत्रको खोजीमा लाग्यो । मन्तव्यमा कुनै मसला नमिसाई सारगर्भित नहुने उसले निष्कर्ष निकाल्यो । अनि उसले मसला निकाल्न सुरु ग¥यो, जुन उसको दिमागमा जमेर बसेको थियो । सुरुमा उसले शहरको एउटा नाम चलेको व्यापारीलाई गाली गर्न सुरु ग¥यो । गालीसँगै ‘हाइ’ काढ्न लागेकाहरूले अलि आँखा चनाखो पारे । त्यसपछि उसले अर्को एउटा नाम चलेको राजनीतिज्ञलाई गाली गर्न थाल्योे । राजनीतिज्ञलाई गाली गर्न थालेपछि त झन ताली पो बज्यो ।
बल्ल उसलाई सारगर्भित मसला थाहा भयो । अनि उसले झन चिच्याउँदै भन्यो– ‘अब हामीले सत्ता पल्टाउनुपर्छ, सत्ता मात्र होइन, यो व्यवस्थालाई नै ढाल्नुपर्छ । यसका लागि आजैबाट विद्रोह सुरु गर्नुपर्छ । कानूनका सीमा तोड्नुपर्छ, परम्परागत मान्यता ढाल्नुपर्छ ।’
उसले यसो भन्दै गर्दा सबै दर्शक र स्रोता बसेको ठाउँबाट जुरुकजुरुक उठेर ताली बजाइरहेका थिए ।
स्रोता सन्तुष्ट थिए, वक्ताका अनुहारमा खुसीका रेखाहरू कोरिए, आयोजक दङ्ग देखिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।