जन्मभूमि निपाने र सेवानिवृत्त जीवन : निमबहादुर ओली
कपन अनलाइन
काठमाण्डौ ,फागुन १०।
कुरोको जग – सीतगँगा नगरपालिका – ०२, निपाने अर्घाखाँची, जन्मभूमिमा २०८१ भाद्र १० देखि २०८१ मार्ग २७ सम्म रहने अवसर मिल्दा अनुभूत गरेका अनुभुतिहरू ।
जन्मभूमिमा आशीन वनपाखा, खोलानाला, पहाडपर्वत, देवालय, मठमन्दिर, लगायत पृथ्वी जगतमा भएका सम्पूर्ण चराचर जगतको चरण कमलमा कोटीकोटी साष्टङग दण्डबत प्रणाम ।
आज मैले तिमीलाई छोडेर गएको करिब करिब चालिसौं बर्ष पुगेछ, मैले त भुलीसकेको रहेछु, तिम्रो दिमाग बडो तिखो रहेछ । तिमीले जन्म दिएर, हुर्काएर, दुई चार अक्षर चिनाएर पठाएको आज जस्तो लाग्छ, तर समय धेरै बितेछ । भर्खर जस्तो लाग्छ, एक जोर लुगा पछाडि सुर्किने झोलामा राखिदिएर ल जौ केही गर, यो समय घर बस्ने वेला होइन, केही गर्ने समय हो भनेर – बिदा गरेको । गन्तब्यमा पुगेपछि सुखदुखलाई आत्मसात् गर्दै सानोतिनो रोजगारीको भरमा शैक्षिक योग्यता बढाउन शुरू गरेँ । ह्रदयले भनिरहेको थियो शैक्षिक योग्यता बढाउने र पुनः जन्मथलोमा आएर शिक्षण पेशालाई सुचारु गर्ने । त्यहीँ लक्ष बोकेर लागेको थिएँ राजाको गाउँतिर । समय बित्ने क्रममा सानो पदको निजामती सेवामा प्रवेश गर्ने अवसर जु¥यो । सुगमदुर्गमको प्रवाह नगरी कहिले पनि बदनियत नराखी सदैव ईमानदारीपुर्बक राष्ट्रसेवा गरेँ जस्तो लाग्छ माता ! अहिले सेवानिवृत भएको छु । तर कति स्वार्थी रहेछु है म । यति लामो समयसम्म आफ्नो मुहाननै बिर्सने, आफ्नो आमालाई बिर्सने । तिमी नभैदिएको भए म हुन्थेँ र ? तिमीले नचिन्न पनि त सक्थ्यौ । म कहाँबाट आएको हुँ, मेरो मुहान कुन हो ? थाहा नपाउने म जस्तो भुलक्कडलाई । चिन्न जरुरी पनि त थिएन, म जस्तो स्वार्थीलाई । ढिलै भएपनि तिम्रो याद आयो – तिम्रै काखमा आएर बोलाएँ – तिमीले सुन्यौं, आमा भन्दा होई छोरा सन्चै आयौ बा भनेर मायालु शब्दमा बोल्यौ । म जन्मेको जन्मभूमिमा रहेको घर अझै पनि रातोमाटो र सेतो कमेरोले पोतेर राखिदिएकी छौ, ढोका खुला छ, बाबा आमा सरह आदरणीय दाजुभाउजु हालका दिनसम्म पनि गोठमा दुहुनो भैंसी र दुई चार बाख्रा पाठा पालेर बस्नु भएको छ, कहाँ झोला राखौं भन्ने समस्या छैन । घर वरिपरि नानाथरिका रंगीचंगी फूल फुलेका छन् । अझ सुपादेउराली मन्दिरमा विराजमान साक्षात देवीको उठ्न बित्तिकै जन्मघरबाट दर्शन गर्न पाउनु म जस्तो भुलक्कडलाइ यो भन्दा के दिन्छौ त माता ? मसँग खुशी अटाउने भाँडो पनि त हुनु प¥यो । यो सम्पूर्ण अद्भुत अवसरको प्रसाद तिम्रै त हो नि माते ।
तिमीलेनै उब्जाएको अन्नपात खाएर, तिम्रै छातिमा टेकेर तिम्रै प्रसाद दुई चार भारी घाँस सोत्तर गरेँ, केही सानातिना सामाजिक काममा पनि सहभागी भएँ । आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी, छोराभतिजासँग मिलन गरायौ । बिबाह, पूजाआजा, व्रतवन्धमा सहभागी हुने अवसर पाएँ । सानोमा स्कूल हिन्दाको चिउरे ढुँगाले पनि चिन्यौे, दुईचार जना नयाँ अनुहारसँग चिनजान गरायौ । कहिले नपुगेको तर सपनिमा साँचेको धार्मिक स्थल, नयाँ नयाँ ठाउँमा पनि घुमायौ, सबैले प्रेम ग¥यौ । सबैले माँया दियौ, तिम्रो काखमा रहँदा एउटा सिटामोल पनि खानु परेन, बरू सानातिना रोगब्याधि थिए भने कम हुँदै गए, यो भन्दा ठूलो गुण म जस्तो बैगुनीलाइ के दिन्छौं त आमा ? तिम्रो मायाँलाई मेरो मनमन्दिरमा सजायर म पनि खुशी हुँदै आनन्दमा लठ्ठीदै गएँ । यो सबै तिम्रै कृपाले त सम्भब भएको हो नि माते ! तिम्रै प्रसाद त हो नि ।
कुनै दिन कुटोकोदालो, बेल्चा गैँची, नाम्ला जिउरा, कहिले उकाली ओह्राली, कहिले घाँसपात, कहिले नयाँ ठाउँ घुम्ने, कहिले धार्मिक स्थल पुग्ने अवसर यिनै मेरा आत्मीय मित्र बने । एक्लो मामाको अन्त्यष्टिमा सामेल हुने सोभाग्य, म तिम्रो काखमा थिएँ र त सम्भव भयो । जन्म लिएपछि मर्नु त छ नै । अझ हाम्रो मामा त छ्यासी सतासी बर्ष पुगिसक्नु भएको र खाँदाखाँदै बोल्दाबोल्दै परलोकमा महाप्रस्थान गर्नु भनेको सुखद पक्ष हो । यी सवै कर्ममा सहभागी हुन पाउँदा पाएको आनन्दले कहिले भावुक बनाउँछ, कहिले आँखामा आँशु छचल्किएर पोखिन्छन्, कहिले मुटुमा गाँठो परेर भक्कानो छुटेर आउँछ । के भएको हो थाहा छैन जन्मभूमि माता ! यी बिष्मात र हर्षका आँशुले भित्र दबिएर रहेको सुखदुःखलाई उजागर गर्ने र मनलाई हलुँगो बनाउने रहेछ । यस खुशीको यस आनन्दको बर्णन गर्ने शब्द नै छैन मसँग – जन्मभूमि आमा !
तिम्रै छातिमा रमाइ रमाइ खेलेँ, बालकपनको याद आयो । खुशी, आनन्दै आनन्द आयो ।तिमी सँगसँगै खेल्न पाउँदा कहिले रून्छु, कहिले भक्कानिन्छु, कहिले हाँस्छु, कहिले आनन्दमा डुब्छु, कहिले उफ्रन्छु, जता ह¥ेयो तेतै राम्रो मात्र देख्छु, आफ्नो मात्र देख्छु, पराइ भन्ने कोही देख्दैन, धुलोको कणकण समेत आफ्नो देख्छु । र, सबैले माँया नै माँया गरेको अनुभूत गर्छु, सबैेबाट स्नेह पाएको महसुस गर्छु, साँच्चै भन्नुपर्दा सबैतिर ईश्वर नै ईश्वर देख्छु, पराई भन्ने कोही छैन, सबै आफ्नो नै आफ्नो । यस्तो अमृत के दियौ माता ? के जादु छ तिमीसँग ? कहिले नअघाउने, जति पायो उति पाउँ पाँउ लाग्ने । निमेषनिमेष, सेकेन्ड सेकेन्ड चौबिसै घण्टा रमाएको छु, आनन्दमा डुबेको छु, रातमा पनि तिमीसँगै खेलेको देख्छु, तिमीसँगै रमाएको देख्छु, तिमीसँगै हराएको देख्छु, खाली तिमी नै तिमी । तिमीमा भएको खुशी, आनन्द मलाई मात्र कति दिन्छौं माता ? तिम्रो सन्तान म मात्र हो र ? अरू पनि त तिम्रा लाखौं सन्तान छन् । अरूलाई पनि त रमाउन, आनन्दमा डुब्न मन लाग्छ होला । म हरक्षण हरपल रमाएको छु, खुशी छु, आनन्दित छु तर पनि तिम्रो नियास्रो अझै मेटिएको छैन, तिमीसँग खेल्न, रमाउन, तिम्रो काखमा लडीवुडी गर्न अझै पुगेको छैन । अग्रज तथा अनुजहरूसँग पसिना बगाइ बगाइ घुर्रो काट्ने रहर, अठासी बर्षीय भान्जादाइ लगायत आत्मीय मनहरूसँग जिल्लाकै अमूल्य सम्पदा अग्लो स्थानमा रहेको “ साउनेथुम “ मा जानी नजानी नाच्ने रहर, तिम्रै छातिमा उफ्री उफ्री हाँस्दै खेल्दै साथीहरूसँग बनभोज खाने रहर, बनमा बनतरूल खन्ने रहरका साथमा सानातिना सामाजिक कार्यमा सहभागी हुने रहरहरू अझ ज्यूँकात्यूँ छन् । तिम्रो मायाँ जति पाउँछु, त्यतिनै आनन्दमा डुब्छु । खेल्ने, रमाउने थप अवसर देउ है माता ! मलाई यो भन्दा ठूलो गुण केही हुने छैन । इहलोकमा मात्र होइन परलोकमा पनि सधै तिम्रै गुणगान गाइनै रहनेछु, तिम्रै भजनकीर्तन गरिनै राख्ने छु ।
तिम्रो छाति कति विशाल छ है माता ! न रिसाउन जानेकी छौ, न त कहिले कोही कसैसँग झगडाझाम्टो नै गर्छाैं । न त कसैले केही माग्दा मेरो भण्डार रित्तियो, सकियो भनेर टक्टकिन्छौ । जसलाई जे चाहियो, जहाँ जान मन लाग्यो, जे खान मन लाग्यो जे गर्न मन लाग्यो सबैको ईच्छा पुराएकी छौ । कस्तो ठूलो मन तिम्रो, कति विशाल छाति, बिचित्रको भण्डार रहेछ है तिमीसँग माता।
त्यत्तिकै भनेका रहेनछन्, हाम्रा पुर्खाहरूले ईश्वर यति दयालु छन्, यति दानी छन् – “ हामीले चिताउनु पर्छ पुराइदिने उनै भगवान् छन् “ भनेर । तिम्रो छातिमा कुल्चदै तिम्रा अँग प्रत्यँग लिंदा पनि, विकासको नाममा तिम्रो शरिरमा हामीबाट स्वार्थवस अनावश्यक चोट दिँदा पनि कहिले दिल दुखाएनौ, बरू आफै अडिन नसकेर हाँसीहाँसी वगेर गयौ, कहिले पीडा बताएनौ। यस कठिन परिस्थितिमा पनि आफ्नो कर्तब्यबाट कहिल्यै च्यूत भएनौ, हामीलाई दसधारा दुधरूपी अमृत पिलाएको पिलाइ ग¥यौ तिमी अलिकता मात्र नराज भएर प्राणरूपी अमृत एक निमेष पनि रोकिदिएको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला है माते ?
कति महासागर छौ है आमा तिमी ! आफ्ना सन्तानले कति लगे, कति खाए, कति दुखपीडा दिए कहिले हिसाब किताबनै राखेनौ, आफ्नो सन्तानको खातिर सदैब हीमनदी जस्तो अमृत बगाएको बगाइ ग¥यौ । अमृतरूपी दूध पिलाएको पिलाइ ग¥यो । तिम्रो छाति कति ठूलो रहेछ, तिम्रो भण्डार कति बिशाल रहेछ, कहिले नसकिने, कहिले नसुक्ने मुहान, कहिले नरित्तिने भण्डार ।
आखिर हामीले पनि लैजानु त केही छैन, जस्तो आएको हो त्यस्तै जाने हो । तिम्रो छातिमा पाइला टेक्दा मुसा जत्रो शरीर र एकमुठी स्वास बाहेक के लिएर आएका थियौं र ? जाँदा पनि अन्तिम साथी त्यहीँ स्वास हो, नलिएको चिज लैजान पाइदैन । लैजान मिल्ने नियमनै छैन । चेतनशील प्राणी भन्ने हामी मानब जन्मेदेखि मेरो मेरो, मलाई, मेराका लागि भन्दै, एकएक रूपियाँको हिसाब किताब गर्दा पनि नपुगेर तँछाडमछाड गर्दै छौँ । एकआपसमा रिसराग, मनमुटाव, खुट्टा तानातानको महारोगले पिडित छौँ र सधै अँध्यारो मुख लगाएर हिँडेका छौँ, जसको कारण हाम्रो खुशी हामीबाटै लुटिएको छ, हाँसो हराएको छ, सधैभरी अरूलाई दोष, अरूकै इष्र्या, अरूकै कुरा, सप्रेको काम मैले गर्दा, बिग्रेको तैँले गर्दा, उस्तै परे भगवानलाई समेत दोष दिन पछि पर्दैनौँ । अनि नानाथरिका कुराले मनलाई एकसय दस डिग्रीको भुङ्रोमा उमालेको उमालै हुन्छौं । यसैको कारण हामी डिप्रेसन जस्तो महारोगबाट पिडित छौँ । तिमी हामीबाट टिक्ली नलिँदा पनि कति खुशी छौ, कति शान्त छौ, कति आनन्दित छौ । यसरी मौनव्रत वसीवसी कहिलेदेखि प्रसाद बाँड्न शुरू गरेकी हौ, कहिलेसम्म बाँड्ने हौ ? तिम्रो यात्रा कहाँसम्मको हो ? सायद तिमीलाई नै थाहा छैन होला है माता ?
महान छौ माता ! तिम्रो योगदानको म जस्तो लठ्ठकबाट न त बर्णननै गर्न सक्छु, न त तिम्रो ऋण तिर्ननै सक्छु । माता ! तिम्रो काखमा लडीवुडी गर्न पाउँदा आनन्दको महासागर भेटेँ, सायद यति आनन्द अहिलेसम्म भेटेको थिइन । बालकपनमा भगवानकी पनि भगवानरूपी आमाको काखमा लडीवुडी गर्दै अनुहारमा हेर्दै मुस्कुराउँदैे स्नेहभावमा आमाबाट पिलाएको दसधारा दूध चुस्दा जति आनन्द आउँथ्यो, त्यतिनै आनन्द आयो आज । धन्य छौ माता ! तिमीसँग आनन्दको महासागर कति रहेछ है ? यस्ती ममतामयी माताको कुन मुखले बर्णन गरौ, जति गुणगान गाएपनि कमै हुन्छ तिम्रो । मबाट भएको कमीकमजोरी अज्ञानी छोरा सम्झेर माफ गरिदेउ है ! के गर्छाै त म पनि त तिम्रै कोखको सन्तान हो । तिमीमा भएको गुण थोरै भएपनि मलाई पनि देउ है आमा ! सदा तिम्रै चरणकमलमा समर्पण । जय जन्मभूमि !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक